आर्थिक क्रान्ति दलहरुको अभिभारा : अर्थमन्त्री

काठमाण्डु टुडे २०७० माघ ७ गते ८:१४ मा प्रकाशित

Shankar-Prasad-Koiralaकाठमाण्डु, ७ माघ – अर्थमन्त्री शंकरप्रसाद कोइरालाले संविधानसभाको अर्काे निर्वाचन सम्पन्न गर्ने दायित्वलाई वर्तमान सरकारले पूरा गरिसकेकाले अब मुलुकलाई आर्थिक क्रान्तिको दिशामा अग्रसर गराउने अभिभारा निर्वाचित दलहरूको भएको बताएका छन् ।

कृषि विकास बैंकको ४७ औँ वार्षिकोत्सव समारोहलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै मन्त्री कोइरालाले संक्रमणकालबाट मुलुकले पार पाइसकेकाले अब आर्थिक वृद्धि र क्रान्तिका कार्यक्रममा दलहरूले विगतमा उठाएका एजेण्डालाई पूरा गर्न लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले उक्त बैंकमा सरकारको पुँजी लगानी भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि उसले भूमिका निर्वाह गर्नुलाई हस्तक्षेपका रुपमा लिन नहुने तर हस्तक्षेप व्यावसायिक हुनुपर्नेमा जोड  दिए ।

बैंकर्स एसोसियसनका अध्यक्ष राजनसिंह भण्डारीले लगानीमा हुने वृद्धिले आर्थिक वृद्धि र रोजगारी वृद्धिमा सहयोग पुग्ने बताए ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकी बैंकको अधिकृत पुँजी रु १३ अर्ब, चुक्ता पुँजी नौ अर्ब ६३ करोड ६८ लाख पुगेको, एक अर्ब ३३ करोड सञ्चालन मुनाफा तथा दुई अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको जानकारी दिए ।

कार्यक्रममा अर्थमन्त्री कोइरालाले पूर्वअध्यक्ष, महाप्रबन्धक तथा प्रमुख कार्यकारी अधिकृतहरू श्रीकृष्ण उपाध्याय, देवेन्द्रप्रताप शाह, रामचन्द्र महर्जन, श्यामसिंह पाण्डेलगायतलाई सम्मान गर्नुका साथै २५ वर्षे दीर्घसेवा पदकबाट १०७ जनालाई पुरस्कृत गरियो ।

यस्तै विभिन्न ६० जना उत्कृष्ट कर्मचारीलाई नगद रु पाँच हजारबाट पुरस्कृत गरिएको घोषणा गरिएको छ । कार्यक्रममा बैंकमा आबद्ध कर्मचारी युनियनका प्रतिनिधिहरुले कर्मचारीको वृत्ति विकास तथा संस्थाको स्वायत्तताका लागि थप पहल गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us