बजेट अभावमा कालीगण्डकी लोकमार्ग अलपत्र

काठमाण्डु टुडे २०७० माघ ७ गते ५:५२ मा प्रकाशित

फलेवास, ७ माघ–सरकारले बजेट विनियोजनमा प्राथमिकतामा नपार्दा बहुचर्चित उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्ग अलपत्र परेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त उत्तर दक्षिण लोकमार्गलाई सरकारले प्राथमिकताबाट हटाएर कालीगण्डकी करिडोरलाई बजेट विनियोजन गर्न थालेपछि लोकमार्ग अलपत्र परेको हो ।

बजेट विनियोजन नहुँदा लोकमार्गको पर्वतको कुस्मादेखि मिर्मीबीचको करिब १० किलोमिटर ट्र्याक खुल्न सकेको छैन भने निर्माण भइसकेको सडकसमेत मर्मत र स्तरोन्नति हुन नसक्दा सवारी चल्न नसक्ने अवस्थामा पुगेको छ ।

कालीगण्डकी लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट क्षेत्रीय सडक बनाउने सरकारी निर्णयका कारण छोटो र कम लागतमा सम्पन्न हुने सडकको काम नै ठप्प बनेको छ । पर्वतको कुस्मादेखि सेतीवेणीसम्म करिब ६० किलोमिटरमा ट्र्याक खोलिए पनि मर्मतको अभावमा अहिले पनि बाच्छाको दुर्लाङसम्म मात्रै सवारीसाधन चल्दै आएका छन् । सवारी साधन नचल्दा दक्षिणी पर्वतका रानीपानी, बर्राचौर, वहाकी लगायतका दर्जन गाविसका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।

‘डिभिजन कार्यालय पोखरालाई सडकको स्तरोन्नतिका लागि ताकेता गरिए पनि बजेट अभावका कारण काम अगाडि बढाउन नसकिएको जवाफ दिने गरेको छ । मर्मतको काम पनि हुँदैन, सडक पनि चल्दैन,’ बाच्छाका लालबहादुर गुरुङले भने, ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई बजेट विनियोजन नगर्ने सरकारी रबैया नै खेदजनक छ ।’ लोकमार्ग अलपत्र परेपछि पर्वतको दक्षिणी क्षेत्रका बासिन्दा निराश भएका छन् ।

भारतसँगको सिमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने सुनौली–मिर्मी–फलेवास–जोमसोम–कोरल्ला ३७७ किलोमिटर लामो सडकलाई क्षेत्रीय सडकमा झारिएको छ भने गैंडाकोट–पाल्पा–बागलुङ–जोमसोम ४९९ किलोमिटर लामो कालीगण्डकी करिडोरलाई यस वर्षदेखि राष्ट्रिय गौरवको योजनाका रूपमा राखिएको छ । कालीगण्डकी करिडोरभन्दा १२२ किलोमिटर छोटो तथा भौगोलिक हिसाबले पनि महत्वपूर्ण कालीगण्डकी लोकमार्गलाई राष्ट्रिय गौरवको योजनामा राख्नुपर्ने माग पर्वत र स्याङ्जाका बासिन्दाले गर्दै आएका छन् ।

सरकारले दुईवटा त्रिवर्षीय योजना (२०६४/६५—२०६६/६७) तथा आठवटा उत्तरदक्षिण लोकमार्गमा राखेको कालीगण्डकी लोकमार्गको कुस्मा–मिर्मी खण्डलाई यस वर्षदेखि क्षेत्रीय सडकका रूपमा राखेको छ । यस वर्ष क्षेत्रीय सडकका रूपमा जम्मा २५ लाख बजेट विनियोजन भएकाले त्यसले सेतीवेणी–कुस्मासम्मको ट्र्याक खोल्नसमेत नपुग्ने क्षेत्रीय सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us