काममा फर्किन चिकित्सकलाई सरकारको आग्रह

काठमाण्डु टुडे २०७० माघ ७ गते ४:३० मा प्रकाशित

काठमाण्डु, ७ माघ– सर्बोच्च अदालतले आन्दोलन फिर्ता लिएर काममा फर्किन दिएको निर्देशन अवज्ञा गर्दै सरकारी अस्पतालका चिकीत्सकहरुले मंगलबार पनि काम ठप्प पारेका छन् । सर्बोच्च अदालतले अत्यावश्यकीय सेवा अस्पताल बन्द गर्न नहुने भन्दै सोमबार एक घण्टाभित्र सेवा सुरु गर्न आन्दोलनरत चिकीत्सकहरुलाई आदेश दिएको थियो ।

नेपाल चिकित्सक संघका अध्यक्ष अन्जनी कुमार झाले आन्दोलन जारी रहेको बताए । उनले आफूहरुको आन्दोलन चिकित्सा शास्त्र अध्ययन संस्थान सुधारको लागि भएकोले माग सम्वोधन हुनुपर्ने बताए ।

सर्बोच्चको आदेश पालना नगरे आन्दोलनरत चिकित्सकहरुलाई मानहानीको मुद्दा लाग्ने कानुनका जानकारहरु बताउँछन् ।

यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार विज्ञप्ति निकालेर सर्बोच्च अदालतको आदेश पालना गर्दै काममा फर्किन सबै चिकित्सकहरुलाई आग्रह गरेको छ ।

विरामीहरुको बिचल्ली

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान सुधारको लागि बिभिन्न माग राख्दै देशभरका सरकारी अस्पतालका चिकीत्सकहरुले आकस्मीक बाहेकका सबै सेवा ठप्प पारेका छन् । सस्तो सरकारी अस्पतालमा उपचार सेवा बन्द भएपछि सर्वसाधारण विरामी मर्कामा परेका छन् । उनीहरु महंगा निजी अस्पतालमा उपचारको लागि जान बाध्य भएका छन् । महंगो शुल्क तिर्न नसक्ने विरामीहरुको भने उपचार सेवा नपाएर ज्यान जोखिममा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका विवादित व्यक्ति डा. शशी शर्मालाई त्रिभुवन विश्वविद्यालय कार्यकारिणी परिषदले डिनमा नियुक्ति गरेपछि चिकित्सकहरु आन्दोलित भएका छन् । नयाँ डिन नियुक्तिको निर्णय फिर्ता गरी पूर्व डिन डा. प्रकाश सायमीलाई नै पुनरवहाली गर्नुपर्ने, चिकित्सा शास्त्र अध्ययन संस्थानमा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने, कलेजहरुलाई नयाँ सम्वन्धन दिन रोक लगाउनुपर्ने लगायत माग राख्दै डा. गोविन्द केसी ११ दिनदेखि आमरण अनसन बसेका छन् । शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ ।

चितवनमा भोकहड्ताल, विरामीका आफन्तद्वारा अस्पताल घेराउ

आमरण अनसनमा बसेका चिकित्सक डा. गोविन्द केसीको जिवन रक्षा सहित सात सुत्रीय मागहरु प्रति ऐक्यबद्धता जनाउदै चितवनका डाक्टरहरुले भोकहड्ताल सुरु गरेका छन् । नेपाल चिकित्सक संघ चितवनले भरतपुर अस्पताल परिसरमा अवस्थित संघको कार्यालयमा २४ घण्टे भोकहड्ताल सुरु गरेको हो ।

नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा. कृष्ण पौडेलले चिकित्सकहरुले उठाएका जायज मागहरु सम्बोधन गर्नेतर्फ सरकार नलागेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए । २४ घण्टे भोकहडतालमा डा. कृष्ण पौडेल, डा. भोजराज अधिकारी, डा.शंकर ढकाल सहित चिकित्सक संघ चितवन शाखाको कार्यसमितिमा आवद्ध १३ जना चिकित्सकहरु बसेका छन् ।

अस्पतालको सेवा सुरु गर्न सर्वोच्चले दिएको आदेशको कुनै अर्थ नभएको भन्दै चितवनका डाक्टरहरुले त्यसप्रति कुनै टिप्पणी गर्न नचाहेको बताएका छन् । आवश्यक परे राजीनामा दिन तयार रहेको भन्दै चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा. पौडेलले तत्काल समस्या समाधानका लागि राज्य गम्भिर बन्नुपर्ने बताए ।

चिकित्सहरुको आन्दोलनका कारण आज पनि चितवनका सरकारी तथा नीजि अस्पतालरु बन्द रहेका छन् । अस्पतालको ओपीडी सेवा तत्काल सञ्चालन गर्न माग गर्दै विपी कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुरका विरामीका आफन्तहरुले प्रदर्शन गरेका छन् । अस्पताल परिसरमा जम्मा भएका विरामीका आफन्तहरुले अस्पतालको प्रशासन कक्ष घेराउ गरेका छन् । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा आन्दोलन गर्दा विरामीको अकालमै ज्यान जानसक्ने भन्दै विरामीका आफन्तहरुले तत्काल आन्दोलन फिर्ता लिएर समस्या समाधानको विकल्प खोज्न चिकित्सकहरुलाई सुझाव दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us