को बन्ला काँग्रेस संसदीय दलको नेता ?

काठमाण्डु टुडे २०७० माघ ७ गते ३:२४ मा प्रकाशित

Sushil,Ramchandra-and-Deuwaकाठमाण्डु, ७ माघ– मतदानबाट संसदीय दलको नेता चयन हुने भएपछि नेपाली काँग्रेसका तीन शीर्ष नेता आफ्नो पक्षमा सभासद तान्न व्यस्त भएका छन् । सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले संसदीय दलको नेता बन्न आन्तरिक कसरत तीव्र पारेका हुन् ।

केन्द्रीय समिति बैठकले आउँदो आइतबार भित्र संसदीय दलको नेता चयनको लागि निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्वाचनको लागि प्रवक्ता दिलेन्द्र प्रसाद बडुको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । यद्यपी चुनावको मिति निश्चित भैसकेको छैन । सम्भवतः मंगलबार दलको नेता चयनको निर्वाचन मिति टुंगो लाग्ने प्रवक्ता बडुले बताए ।

आइतबार संविधानसभाको पहिलो बैठक भएकाले त्यसअघि नै दलको नेता चयन गरिसक्नुपर्छ । काँग्रेसको विधानमा संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था रहेकोले कोइराला, देउवा र पौडेल तिनैजना आफ्नो पक्षमा बहुमत जुटाउन व्यस्त छन् । उनीहरुले प्रत्यक्ष र समानुपातिक तर्फका पार्टीका सभासदहरुलाई भेट्दै आफूलाई समर्थन गर्न आग्रह गर्दै आएका छन् । कोइरालाको पक्षमा महामन्त्री कृष्ण प्रसाद सिटौला, शशांक कोइराला, सुजाता कोइराला लगायत नेताहरु सभासदहरुलाई फकाउन व्यस्त छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता देउवाको पक्षमा सहमहामन्त्री पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, विमलेन्द्र निधी, प्रकाश शरण महत लगायत नेताहरु रहेका छन् । हालसम्म पार्टीको महत्वपूर्ण जिम्मेवारी नपाएकाले देउवाले संसदीय दलको नेतामा दावी गर्दै आएका छन् । उनले आफू पक्षका केन्द्रीय सदस्य र सभासदहरुलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा भेला पारेर छलफल गर्दै आएका छन् ।

उपसभापति पौडेल पनि आफ्नो पक्षमा समर्थन जुटाउन पनि व्यस्त छन् । पार्टीको बाह्रौं महाधिवेशनमा सभापति बन्न कोइरालालाई सहयोग गरेकाले यसपाली आफूलाई प्रधानमन्त्री बनाउनु पर्ने उनको भनाइ छ । उनले बिभिन्न सभासदहरुलाई काठमाण्डुका महंगा होटल तथा रेष्टुरेन्टमा रात्रीभोज खुवाउदै आफ्नो पक्षमा मत माग्ने गरेका छन् । पौडेललाई नवीन्द्रराज जोशीलगायत नेताहरुले साथ दिएका छन् । पहिलो संविधानसभामा दलको नेताको हैसियतले पौडेलले नै काम गरेका थिए । आफ्नो कार्यकाल सफल रहेकोले यसपटक पनि आफू संसदीय दलको नेता हुनुपर्ने पौडेलको दावी छ ।

काँग्रेसमा महामन्त्री प्रकाशमान सिंह लगायतका केही नेताहरु भने तटस्थ देखिएका छन् । त्यसैले तटस्थ जस्तै देखिएका नेताहरुलाई आफ्नो पक्षमा तान्न कोइराला, देउवा र पौडेलले कसरत जारी राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us