डा. केसीको स्वास्थ्य अत्यन्तै कमजोर

काठमाण्डु टुडे २०७० माघ ६ गते ९:५० मा प्रकाशित

Gobinda Kcकाठमाण्डु, ६ माघ– सात सूत्रीय माग राखी आमरण अनसनमा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको छ ।

‘उहाँको स्वास्थ्य अवस्था क्रिटिकलतर्फ उन्मुख भएको छ । चिकित्साका भाषामा क्रिटिकल भन्नु भनेको बिरामीलाई जुनसुकै समयमा जे पनि हुनसक्छ । उहाँलाई अक्सिजन र स्ल्याइनले मात्र बचाइराखेको छ’ डा केसीका उपचारमा संलग्न चिकित्सक प्राडा सुभास आचार्यले जानकारी दिए ।

‘प्राडा केसी कम बोल्न थाल्नुभएको छ । रगतमा अक्सिजनको मात्रा कम, मुटुको धड्कन बढ्दो र पिसाब पनि अति कम भएको छ । हामीले हरपल उहाँको रक्तचापलगायत अन्य अवस्थाको परीक्षण गरिराखेका छौँ,’ डा आचार्यले भने ।

त्रिवि कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा शशी शर्मालाई नियुक्ति गरेपछि समग्र स्वास्थ्य संस्था तथा शिक्षण अस्पतालमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेलगायतका माग गर्दै केसी पुस २७ गते शनिबारदेखि अनसनमा बस्दै आएका हुन् ।

अहिले केसीको अनसनप्रति समर्थन जनाउँदै शिक्षण अस्पतालमा कार्यरत चिकित्सक, परिचारिका, प्राविधिक तथा कर्मचारीले आकस्मिक तथा अन्तरंग सेवासमेत बन्द गरेका छन् ।

बन्द, हडतालले निषेध गरिएका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी बन्द, हडतालमा उत्रिँदा बिरामी मर्कामा परेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा आइतबारदेखि सबै स्वास्थ्य संस्थाका बहिरंग सेवा ठप्प भएका छन् ।

संघका सभापति डा अञ्जनीकुमार झाले केसीका मागलाई सरकारले सम्बोधन नगरे सम्पूर्ण स्वास्थ्य संस्थाका आकस्मिक तथा अन्तरंग सेवासमेत बन्द गर्ने चेतावनी दिएका छन् ।

अर्काेतर्फ मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, शिक्षा मन्त्री माधव पौडेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विद्याधर मल्लिकले डा केसीका मागलाई सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरिसकेका छन् । तर त्रिविवि कार्यकारी परिषद्ले हालसम्म मागलाई सम्बोधन गरेको छैन ।

चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डीन डा शशी शर्मा आफ्नो नियुक्ति वैधानिक भएकाले राजीनामा नदिने बताएका छन् । यसैबीच, केसीको जीवनरक्षा माग गर्दै विभिन्न संस्थाले आज माइतीघर मण्डला अगाडि एक घण्टा धर्ना दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us