झापाको दोमुखामा होमस्टे सञ्चालन

काठमाण्डु टुडे २०७० माघ ६ गते ६:११ मा प्रकाशित

दमक, ६ माघ – झापाको सतासीधामस्थित पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल दोमुखामा घरबास (होमस्टे) सुरु गरिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न स्थानीयस्तरमा घरबास कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

महिना दिनअघिदेखि सो क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको स्थानीय बासिन्दाले बताएका छन् । दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाका अध्यक्ष धनप्रसाद लावतीले दोमुखाको पर्यटकीय विकासका लागि अहिले तीनवटा घरमा यो कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले भने, ‘अब क्रमशः होमस्टेलाई आवश्यकताअनुसार थप गर्दै लैजाने छौँ ।’

त्यसका लागि आवश्यकीय पूर्वाधारसमेत थप गर्दै लगिने समितिले जनाएको छ  । घरबासका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समितिले त्यहाँको भौगोलिक अवस्था तथा विविध पक्षबारे जानकारी गराउने छ ।

दोमुखाको पहिचान झल्कने गरी बनाइएको पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला विकास समिति झापाले यहाँ पर्यटकीय पूर्वाधार निर्माण गर्न रु सात लाख विनियोजन गरेको छ ।

सतासीधाम–९ र दक्षिणी इलामको महमाई गाविसको वडा नं ७ को कन्काई नदीको सङ्गममा अवस्थित यो क्षेत्र लामो समयदेखि आन्तरिक पर्यटनका लागि पूर्वकै गन्तव्य मानिँदै आएको छ ।

बर्सेनी सो क्षेत्रमा वनभोज तथा मनोरञ्जन गर्न ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । सो क्षेत्रमा समितिले रु २० लाख बढीका विभिन्न पूर्वाधारहरु निर्माण गरिसकेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us