राहदानीको लागि आवेदन संकलन केन्द्र थपिए

काठमाण्डु टुडे २०७० माघ ६ गते १०:१८ मा प्रकाशित

Machine-Readable-Passportकाठमाण्डु, ६ माघ – राहदानी लिनका लागि आवेदन दर्ता गर्न १५ घण्टाभन्दा बढी समय लाईनमा बस्नुपर्ने सेवाग्राहीको बाध्यता अब हट्ने भएको छ ।

सरकारले सोमबारदेखि नारायणहिटी दरबारस्थित राहदानी विभागमा ६ वटा आवेदन संकलन केन्द्र सञ्चालन गरेपछि सेवाग्राहीलाई त्यस्तो सुविधा उपलब्ध भएको हो ।

केन्द्रको, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास वैरागीले उद्घाटन गरे ।

त्यस अवसरमा उनले सेवाग्राहीको चापलाई दृष्टिगत गरी आवेदन केन्द्र विस्तार गरिएको बताउँदै निकट भविष्यमा घनाबस्ती भएका राजधानीका चक्रपथ क्षेत्रका कोटेश्वर, कलंकी, सामाखुसी, सातदोबाटोलगायतका स्थानमा पनि त्यस्ता केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

दैनिक दुई हजारभन्दा बढी व्यक्ति राहदानीका लागि आवेदन फाराम बुझाउन आउने गरेका बताउँदै राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले राहदानी छपाइ पनि वृद्धि गर्ने योजनामा विभाग रहेको जानकारी दिए ।

विगत तीन वर्षदेखि सरकारले यन्त्रले पढ्ने राहदानी एमआरपी वितरण गर्दै आएको छ । राहदानी वितरणबाट यस अवधिमा ६ अर्ब राजस्व संकलन भएको खनालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us