हिमापतसँगै बढेको चिसोले बस्ती सुनसान

काठमाण्डु टुडे २०७० माघ ६ गते २:५९ मा प्रकाशित

दार्चुला, ६ माघ – माथिल्लो दार्चुलाका १२ वटा गाविसमा हिमपातसँगै अत्यधिक चिसो बढ्न थालेपछि स्थानीयवासी बेँसी झर्न थालेका छन् ।

यहाँका एरकोटे, घुसा, खण्डेश्वरी, राप्ला, सुन्सेरा, सिप्टी, व्यास माथिल्लो भेग, कैलाश मानसरोवर पर्यटकीय क्षेत्र तथा चीनको ताक्लाकोट क्षेत्र आसपासका गाविसमा दुई दिनदेखि परेको भारी हिमपातका कारण चिसोले जनजीवन कष्टकर बनेपछि उनीहरु बसाइँ सर्न थालेका हुन् ।

जाडोले बस्नै नसकिने भएपछि केही स्थानीय बासिन्दा हिमपात सुरु हुनुपहिले नै बेंसीतिर झरिसकेका थिए । पुसदेखि फागुनको अन्तिम सातासम्म यहाँका बस्तीमा बाक्लो हिमपात हुन्छ ।

उच्च पहाडी क्षेत्रका बासिन्दाले गर्मी समयमा अन्न र आलुखेती गर्छन् भने जाडोमा उब्जनी नहुने भएकाले खेतबारी बाँझै छाड्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us