आठ महिनादेखि कालीकोट अन्धकारमय

काठमाण्डु टुडे २०७० माघ ६ गते २:५६ मा प्रकाशित

kalikot_district_mapकालीकोट, ६ माघ – वर्षासँगै आएको बाढीका कारण कालीकोटको एक मात्र जलविद्युत अवरुद्ध भएको आठ महिना पुगिसक्दा पनि सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

विद्युत सञ्चालन नभएपछि विद्युतीय माध्यमबाट सञ्चालन हुने सम्पूर्ण काम बन्द हुँदा समस्या आएको हो । गत असार २ गते राति वर्षासँगै आएको बाढीका कारण मुम्रा गाविसको पोतमारास्थित विद्युतगृहमा रहेको डेलिभरी मेसिन, टर्वाइन र पोललगायतका सामान बगाएर लगेपछि विद्युत सेवा बन्द भएको हो ।

पाँच सय किलोवाट क्षमता भएको सो जलविद्युतबाट २५० किलोवाट मात्र प्रयोगमा आएको भए पनि बाढीले उपकरण नै बगाएर लगेपछि स्थानीयवासी उज्यालोबाट वञ्चित हुनु परेको हो ।

जलविद्युत सञ्चालनका लागि पटकपटक स्थानीयवासीको माग मात्र भएको होइन दुई महिनाअघि सम्पन्न संविधानसभाको निर्वाचनमा राजनीतिक दलको भोट माग्ने माध्यम नै बनेको थियो ।  तर अहिले कसैले पनि विद्युतका बारेमा बोल्न चाहेका छैनन् ।

विद्युत नहुँदा कालीकोटमा वैकल्पिक ऊर्जा तथा जेनेरेटरमा लाखौँ रकम बाहिरिएको छ । पछिल्लो छ महिनामा जिल्ला सदरमुकाम मान्ममा विद्युत नभएका कारण २५ वटा जेनेरेटरका साथै ५० भन्दा बढी ठूला क्षमताका सोलार प्रणाली सञ्चालनमा आएका छन् ।

जसबाट स्थानीय सेवाग्राहीहरु फोटोकपी, फोटो निकाल्ने लगायतका काम गर्न चर्काे मूल्य तिर्न बाध्य भएका छन् । त्यति मात्र होइन सूचना पाउने जनताको अधिकारसमेत वञ्चित भएको छ । विद्युत नभएका कारण महँगो पेट्रोल तथा डिजेलबाट एफएमहरु सञ्चालन गर्दा उनीहरुले निर्धारित समयभन्दा आधा समय छोट्याउनु परेको छ ।

स्थानीय नेपाली आवाज एफएमका सञ्चालक अशोकनाथ योगीले सरकार उदासीन भएका कारण स्थानीय जनता सूचनाको हकबाटसमेत वञ्चित हुन पुगेको बताए । जिल्ला विद्युत कार्यालयका प्रमुख रमेश भण्डारी विद्युत अवरुद्ध भएको समयदेखि कालीकोटमा छैनन् ।

शान्तिघाटका बाढीका कारण १८ जनाको ज्यान जाँदासम्म सरकारको ध्यान नपुगेकामा जिल्लावासी आक्रोशित भएका थिए । विद्युत नभएपछि एसएलसी परीक्षाका लागि ट्युसन पढ्न सदरमुकाम आएका विद्यार्थीसमेत मारमा परेका छन् ।

पढ्न भनेर सदरमुकाम आयौँ यहाँ बत्ती छैन, दिउँसो ट्युसन पढ्ने गरे पनि राति पढ्न नपाएको विद्यार्थीले गुनासो पोखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us