शीतलहरले सब्जीबाली नष्ट

काठमाण्डु टुडे २०७० माघ ६ गते २:१२ मा प्रकाशित

उदयपुर, ६ माघ – उदयपुरको त्रियुगा नगरपालिकालगायत जिल्लाको हँडिया तथा जोगिदह गाविस क्षेत्रमा स्थानीय कृषकले लगाएको विभिन्न तरकारी बाली शीतलहर तथा हुस्सुको कारण नष्ट हुन थालेपछि कृषक चिन्तित बन्न थालेका छन् ।

हिउँदे मौसमी खेतीका रुपमा लगाएको तरकारी बाली आलु, गोलभेँडा, काउली तथा अन्य हरियो तरकारी बाली बढी चिसो र हुस्सुको कारण मर्न थालेपछि सम्बन्धित क्षेत्रका कृषक चिन्तित हुन थालेका हँडिया–४ का कुमार थापाले बताए ।

प्रत्येक वर्ष यस क्षेत्रका कृषकले तरकारी गरेर बिक्री गरी आर्थिक आम्दानी गर्दै आएको भए तापनि यस पटक बढी हुस्सु र शीतलहरका कारण तरकारी बाली धेरै नष्ट भएको जोगिदहका रामकृष्ण चौधरी बताउँछन् ।

हँडिया तथा जोगिदह क्षेत्रमा मात्र पचासौँ बिघा क्षेत्रमा आलुखेती गरिँदै आएको पाइन्छ । शीतलहरबाट आलुको बिरुवा मर्न थालेपछि आलुको बीउको दामसमेत नउठ्ने भएको जोगिदह–४ कै पूर्णबहादुर कार्कीको दुखेसो छ ।

त्रियुगा नगरपालिका–६ खैजनपुरका मौलाई चौधरी भन्छन्–‘हिउँदमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका थियौँ, यस वर्ष तरकारी बिक्री गर्नुअगाडि नै शीतलहर चलेपछि सबै तरकारीका बिरुवाहरु मरे, उत्पादनमा घाटा लाग्यो ।’

शीतलहर तथा हुस्सुबाट भएको क्षति नियन्त्रण गर्न पटक–पटक औषधि प्रयोग गर्दा पनि त्यसले काम नगरेको कृषकको गुनासो रहेको पाइन्छ । शीतलहरका कारण बढी मात्रमा आलु तथा टमाटर नष्ट भएको कृषकको गुनासो छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us