दृष्टिविहीन ब्रेललिपिको कार्बोन कापी अभाव

काठमाण्डु टुडे २०७० माघ ६ गते २:०६ मा प्रकाशित

braille.-300x198गोरखा, ६ माघ – गोरखाको अमरज्योति जनता उमाविमा रहेका दृष्टिविहीनलाई ब्रेललिपि कार्बोन कापीको अभाव भएको छ । आर्थिक अभावका कारण ब्रेललिपिको प्रयोग गर्न नपाइएको दृष्टिविहीन विद्यार्थीले गुनासो गरेका छन् ।

सो उच्चमाविमा नौजना दृष्टिविहीन विद्यार्थी पढ्दछन् । ब्रेललिपि कापीको अभावमा पठनपाठनमा समस्या भएको दृष्टिविहीन विद्यार्थी मनिषा पोखरेलले बताइन् ।
एक जनालाई एक दिनमा १० देखि २० पानासम्म कापीको आवश्यक परे पनि दिनमा दुई पानाभन्दा बढी कापी नपाउने पोखरेलले बताइन् ।

दृष्टिविहीन विद्यार्थीका लागि विद्यालयले नै ब्रेललिपि कार्बोनको व्यवस्था गर्नुपर्ने भए पनि विद्यालयले कापी नदिएपछि घरबाट पैसा ल्याएर किन्ने गरेको उनीहरुले बताएका छन् ।

सरकारले दिने आर्थिक सहयोग अपुग भएकाले दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक गोविन्द खनाल बताउँछन् । परीक्षा शुल्क पनि लिन नपाइने भएपछि ब्रेललिपि कापी पर्याप्त मात्रामा पुर्याउन नसकिएको उनको भनाई छ ।

सरकारले वार्षिक एक लाख २१ हजार मात्र दिने र विद्यालयको आन्तरिक स्रोत नहुँदा समस्या भएको उनले बताए ।

सरकारले वार्षिक पाँच लाख रुपैयाँ दिए ब्रेललिपि कापीको अभाव नहुने उनको भनाई छ । सरस्वती उमावि आहालेको पनि अमरज्योतिको जस्तै समस्या रहेको छ । गोरखाका यी दुई विद्यालयले दृष्टिविहीन बालबालिकालाई पढाउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us