अब एमाओवादी नेताहरुको संयुक्त आवास

काठमाण्डु टुडे २०७० माघ ६ गते १:५५ मा प्रकाशित

maoist-flagकाठमाण्डु, ६ माघ – एकीकृत माओवादीका नेताहरु हेटौंडा महाधिवेशनले पारित गरेको प्रस्ताव अनुसार सामूहिकरुपमा एकै स्थानमा बस्ने तयारी थालेका छन् ।

केन्द्रीय कार्यालय र नेता कार्यकर्ताको सामूहिक बसोबासका लागि जग्गा भाडामा लिने तयारी भइरहेको एमाओवादीले जनाएको छ ।

गत वर्ष माघमा सम्पन्न सातौँ महाधिवेशनवाट पारित प्रस्तावअनुसार संयुक्त आवासको तयारी गरिएको केन्द्रीय सदस्य देवेन्द्र पौडेल सुनिलले जानकारी दिए ।

‘पार्टीलाई उत्पादन ब्युरोसंग जोड्न हेडक्वाटरको नेतृत्वमा २० देखि २ सय रोपनी जग्गा भाडामा लिन खोजिरहेका छौँ,’ उनले भने, ‘संविधानसभा चुनावका कारण यो एजेन्डा केही समय थाँती रहेपनि अहिले चक्रपथवरिपरि २-३ ठाउँमा हेरिरहेका छौँ ।’

प्रस्ताव अनुसार काम भए एकीकृत माओवादीका केन्द्रीय सदस्यदेखि सवै नेता संयुक्त आवासमा बस्नु पर्नेछ र एउटै मेसमा खानु पर्नेछ । यो नियम नमान्नेले पार्टी परित्याग गर्नु पर्नेछ ।

उनीहरुले पैतृक सम्पति राख्न र निजी सवारी साधन प्रयोग गर्न पाउने छैनन् । एउटै आवासमा बस्ने नेता कार्यकर्तालाई स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका आधारभूत सुविधा दिइने छ ।

पौडेलका अनुसार हेटौँडा महाधिवेशनमा अध्यष प्रचण्डले ल्याएको यो प्रस्ताव नेता डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ लगायतका नेताको सहमतिमा पारित भएको थियो । अब एमाओवादी सो नीति कार्यान्वयन गराउने तयारीमा रहेको खबर आजको कारोवार दैनिकले छापेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us