लालबकैया नदीमा पुल नहुँदा समस्या

काठमाण्डु टुडे २०७० माघ ६ गते १:२७ मा प्रकाशित

रौतहट, ६ माघ – जिल्ला सदरमुकाम गौर–६ मा रहेको लालबकैया नदीमा पुल नहुँदा  सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

रौतहटको बन्जरहा, औरैया, मठिया, रामपुरखाप, डुमरिया, पिपरालगायतका गाविसका बासिन्दा नदीमा पुल नहुँदा समस्यामा पर्दै आएका छन् । नदीमा बाँसको अस्थायी पुल (चचरी) बनाई मानिसहरु सदरमुकाम गौर आउने जाने गर्दछन् ।

बर्खाको समयमा डुङ्गामा र हिउँदमा बाँसको अस्थायी पुलबाट मानिस आवतजावत गर्दै आएका छन् । बर्खाको समयमा जोखिमपूर्ण रुपमा डुङ्गामा यात्रा गर्दा डुङ्गा पल्टिएर हरेक वर्ष मानिसको ज्यान जाने गरेको छ । केही गाविसका बासिन्दा भने नदीमा बाढी आएको समयमा महँगो भाडा तिरेर भारतको बाटो हुँदै सदरमुकाम आउने गरेका छन् ।

विभिन्न समयमा नेताहरु आई पुल बनाइदिने आश्वासन दिएता पनि काम नभएको स्थानीयवासीको गुनासो रहेको छ । नदीमा बाँसको अस्थायी पुल बनाउनका लागि जिल्ला विकास समितिले ठेक्का दिने गरेको छ । ठेकेदारले सो पुलबाट आवतजावत गर्ने व्यक्तिसँग १० रुपैयाँ, साइकलको १५ रुपैयाँ र मोटरसाइकलको २० रुपैयाँ लिने गरेका छन् ।

सदरमुकामसँगै जोडिएको गाविसका बासिन्दालाई पनि सदरमुकाम आउँदा जाँदा खोला तरेको पैसा तिर्नुपर्ने बाध्यता रहेको औरया गाविसका बासिन्दा राम एकवाल साहले बताए ।

जिल्ला विकास समितिले लालबकैया नदीको टिकुलियाघाटमा तीन वर्षका लागि अस्थायी पुल बनाएर पैसा उठाउन पाँच लाख ११ हजारमा ठेक्का दिएको ठेकेदार पप्पु सिंहले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us