के हुँदैछ संविधानसभाको पहिलो बैठकमा ?

काठमाण्डु टुडे २०७० माघ ५ गते १३:४९ मा प्रकाशित

New Banesworeकाठमाण्डु, ५ माघ- संविधानसभा सचिवालयले यही माघ ८ गतेका लागि बोलाइएको संविधानसभाको पहिलो बैठकका लागि तीन कार्यसूची तयार पारेको छ ।

संविधानसभामा प्रतिनिधित्व गर्ने ३० राजनीतिक दलका प्रतिनिधिसँग सचिवालयले आइतबार गरेको परामर्श बैठकले पारित गरेको कार्यसूचीअनुसार संविधानसभाको पहिलो बैठकमा मन्त्रिपरिषद्का अध्यक्षले पठाएको पत्र पढेर सुनाइने छ ।

यस्तै संविधानसभा सञ्चालनका लागि नयाँ नियमावली पारित नभइसकेका सन्दर्भमा संविधानसभा नियमावली २०६५ बमोजिम कार्यसञ्चालन गर्ने भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची तय भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए ।

यस्तै संविधानसभाको अध्यक्षको व्यवस्था नहुँदासम्म संविधानसभाका अध्यक्षले गर्नुपर्ने कामकारबाहीका लागि अन्य सभासद्को व्यवस्था गर्न आवश्यक प्रस्ताव पेस गरिने छ ।

संविधानसभा निर्वाचनमा नेपाली जनताले देखाएको उत्साहपूर्ण सहभागिताप्रति धन्यवाद व्यक्त गर्ने कार्यसूचीसमेत आइतबारको बैठकले पारित गरेको छ ।

बैठकमा अघिल्लो संविधानसभाले गरेका कामकारबाहीसम्बन्धमा स्वामित्व लिने विषयमा छलफल भए पनि त्यस विषयमा कुनै निर्णय नभएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

अघिल्लो संविधानसभाले पारित गरेका धेरै विषय अग्रगामी छन् भन्दै धेरै राजनीतिक दलले बताए पनि त्यसो हुन नहुने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलले सबै काम शून्यबाटै सुरु गर्नुपर्ने धारणा राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us