आँधीबाट ४० को मृत्यु, ६ लाख प्रभावित

काठमाण्डु टुडे २०७० माघ ५ गते ११:५० मा प्रकाशित

Philipinceमनिला, ५ माघ– फिलिपिन्समा हालै आएको बाढी र त्यसपछिको आँधीको प्रकोपका कारण कम्तीमा पनि ४० जनाको मृत्यु भएको छ ।

बाढीका कारण लाखौं नागरिक प्रभावित भएका छन् । बाढीले आइतबारसम्ममा ४० को ज्यान लिएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार अरुपनि सो बाढीका कारण केही नागरिक हराएका छन् । सो बाढीका कारण फिलिपिन्सका करिब छ लाख नागरिक प्रभावित भएका पनि समाचारमा जनाइएको छ । आँधीको डरले लाखौँ व्यक्ति विस्थापित भएको पनि समाचारमा जनाइएको छ ।

उनीहरुले विस्थापितहरुको व्यवस्थापनका लागि पनि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चान गरिरहेको जनाएका छन् । सरकारी उद्दारकर्मीहरुले सो बाढीका कारण विस्थापित भएका करिब एक लाख ६१ हजार नागरिकलाई उद्दारगरी सरकारी अश्रयस्थलहरुमा राखिएको पनि बताएका छन् ।

सो मौसमको कारण दुईलाख १८ हजारभन्दा बढी व्यक्ति आँधी प्रभावित क्षेत्रबाट विस्थापित भई अस्थाई भवन, विद्यालय र सरकारी भवनहरूमा बसोवास गर्दैआएका पनि नागरिक प्रतिरक्षा अधिकारीहरूले जनाएका छन् ।

फिलिपिन्सको विशेषगरी मिन्दानाओ द्वीपको आगुसान नदीमा सो बाढी आएको हो । भारी वर्षापछि आगुसान नदीमा आएको बाढी र त्यसपछिको पहिरोमा एकहप्ताभित्र ठूलो जनधनको क्षति पुगेको जनाइएको छ ।

त्यसैगरी मिन्दानाओको पूर्वी तटीय क्षेत्रमा मात्र यसैहप्तामा २५ व्यक्तिको मृत्यु भएको जनाइएको छ । सोही क्षेत्रमा सन् २०१२ को डिसेम्बरमा आएको बोफा आँधीबाट एक हजार नौ सय व्यक्ति मृत्यु र बेपत्ता भएका थिए ।

फिलिपिन्सको मौसम भविष्यवाणी कार्यालयले त्यहाँ अझैपनि थप बाढी र आँधीको प्रकोपको सम्भावना रहेको जनाएको छ । सो कार्यालयका अनुसार फिलिपिन्सको पूर्वीय तटीय र मिन्दानाओको तटीय क्षेत्रमा आँधीको प्रकोपको सम्भावना रहेको छ ।

सोही क्षेत्रनजिकै गत नोभेम्बरमा पनि सुपर ताइफून हाइयान नामको आँधी आएको थियो । सो आँधीबाट करिब आठ हजार व्यक्तिको मृत्यु वा बेपत्ता भएका थिए । सो आँधीबाट करिब करिब ४० लाख व्यक्ति घरवारबिहीन भएका थिए । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us