‘डा गोविन्द केसीको माग पुरा नभए अस्पतालका सबै सेवा ठप्प’

काठमाण्डु टुडे २०७० माघ ५ गते १०:३३ मा प्रकाशित

anjani jhaकाठमाण्डु, ५ माघ – नेपाल चिकित्सक संघले विगत नौ दिनदेखि आमरण अनसनमा बसेका डा गोविन्द केसीले उठाएको सात बुँदे माग पुरा नभए आकस्मिकसहित सबै सेवा अनिश्चितकालको लागि ठप्प पार्ने चेतावनी दिएको छ ।

काठमाण्डुमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष डा अञ्जनीकुमार झाले नेपाली जनताको निःशुल्क स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्न सात बुँदे मागको कार्यान्वयन आवश्यक भएको तर्क गर्दै सरकारले तत्काल माग पुरा नगरे अनिश्चितकालीन रुपमा सम्पूर्ण स्वास्थ्य सेवा ढप्प पार्ने चेतावनी दिए ।

सात दिनसम्म समस्या समाधानको लागि सम्बन्धित निकायसँग वार्ताको प्रयास गर्दा पनि बेवास्ता गरेपछि आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको दावी गर्दै आफूहरुको माग विश्व स्वास्थ्य संगठन मान्यता अनुसार भएको बताए ।

उनले ५ प्रतिशत स्वास्थ्य कर हटाउनु पर्ने, सर्वसाधारणको निःशुल्क स्वास्थ्य सुविधाको अधिकार सुनिश्चित गर्नुपर्ने, चिकित्सकको दरबन्दी थप्नुपर्ने, मेडिकल अध्ययनको सिलिङ तोकिनपनुपर्ने जस्ता केसीको माग पुरा गर्नुपर्ने बताए ।

झाले मुलुकभरका चिकित्सकले आन्दोलन अवधिको तलब भत्ता नलिने घोषणा गर्दै अशक्त बिरामीलाई आकस्मिक कक्षमा राखेर भए पनि उपचार भने गरिने समेत स्पष्ट पारे । उनले सरकारले जायज माग नसुनेर आफूहरुलाई नै बिरामी हेर्नबाट बञ्चित पारिएको आरोप समेत लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us