लोकतान्त्रिक विकासका लागि अमेरिका बलियो सहयोगी

काठमाण्डु टुडे २०७० माघ ५ गते ५:२६ मा प्रकाशित

भर्जिनिया, अमेरिका ५ माघ–अमेरिकन कङ्ग्रेसनल नेपाल ककसका सह-अध्यक्ष जेरेड पोलिसले अमेरिका नेपालको प्रजातान्त्रिक पद्धतिको विकासका लागि सधै एक बलियो सहयोगी हुने बताएका छन् ।

भिजन फर नेपाल फाउण्डेशनले नेपालमा राज्यको पुनर्समचना र संघियताका बारेमा नागरिक सर्वेक्षण गर्ने उद्देश्यले वाशिङ्टन डिसीमा आयोजना गरेको अनुदान सङ्कलन कार्यक्रममा बोल्दै पोलिसले त्यस्तो धारणा व्यक्त गरेका हुन ।

उनले भने, ‘भिजन फर नेपालले संघियताका बारेमा गर्न लागेको सर्वेक्षणको दिर्घकालीन प्रभाव रहनेछ ।’ कार्यक्रममा भर्जिनिया ११ का संसद तथा विदेश मामिलासम्वन्धी एशिया उपसमितिका सदस्य जेराल्ड कोनोलिले पठाएको शुभकामना सन्देसलाई उनका आउटरिच निर्देशक माइक कोलिन्सले पढेर सुनाएका थिए ।

उनको सन्देसमा भिजन फर नेपालले राज्यको पुनर्समरचनाका र संघियताका बारेमा जनताको विचार लिनका लागि गरिन लागेको सर्वेक्षणलाइ आफ्नो समर्थन रहेको उल्लेख छ ।

विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकले पनि यस सर्वेक्षणमा सहभागी हुन पाउने भएकोले यसले धेरैको प्रतिनिधित्व गर्न सक्ने सन्देसमा जनाइएको छ ।

त्यसैगरि कार्यक्रमका प्रमुख अतिथी तथा अमेरिकास्थित नेपाली राजदुत डा. शंकर शर्माले भिजन फर नेपाल फाउण्डेशनले गर्न लागेको यो सर्वेक्षण समय सान्दर्भिक र वर्तमान राजनितिलाई दिशानिर्देश गर्नका लागि सहयोग पुर्याउन सक्ने विषयवस्तु रहेको बताए ।

उनले भने, ‘सर्वेलाई बढी वैज्ञानिक र तथ्यपरक बनाउन सक्ने हो भने यसले नेपालको राज्य पुनर्समरचना र संघियताका बारेमा जनताको मतलाई प्रतिनिधित्व गर्न सक्नेछ ।’ शर्माले सर्वे प्रक्रियालाई अगाडि बढाउनका लागि यसको राम्रो विधि निर्माण गर्नुपर्ने र समावेशी बनाउनु पर्नेमा जोड दिएका थिए । उनले भने, ‘यस कार्यलाइ अगाडि बढाउनका लागि मेरो सधै सहयोग रहनेछ ।’

त्यसैगरि भिजन फर नेपाल फाउण्डेशनका अध्यक्ष कृष्ण शर्माले पहिलो संविधानसभामा दलहरु राज्यको पुनसंरचना र संघियताका बारेमा निकै विभाजित हुँदा संविधानसभाकै अवसान भएको र पुन गरिएको संविधानसभामा त्यही विषयमा जनतासँग कुनै अभिमत नलिएकोले यो सर्वे गर्नु परेको बताए ।

उनले भने, “हामीले देसभित्रका नेपालीका अतिरिक्त देस बाहिर रहेका नेपालीलाई पनि यस प्रक्रियामा सहभागी गराउनेछौ । त्यसका लागि हामीले विभिन्न देसमा एक एक जना समन्वयकर्ता राख्ने तयारी गरेका छौ ।’

कार्यक्रममा अमेरिकन युनिभरसीटि, जर्ज टाउन युटिभरसीटि तथा जर्ज म्यासोन युनिभरसीटिका कानुन तथा अन्तराष्ट्रिय मामिलासम्वन्धी विद्यार्थी,विज्ञ, भूतपूर्व पिस कोर स्वयम्सेवक तथा स्थानीय नेपालीको सहभागीता रहेको थियो । सहभागी सबैले नेपालमा संविधान बन्न नसकेकोमा चिन्ता प्रकट गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us