डा. केसीको जीवनरक्षाको माग

काठमाण्डु टुडे २०७० माघ ५ गते ५:०३ मा प्रकाशित

Gobinda Kcकाठमाण्डु, ५ माघ – प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले डिन नियुक्तिलगायत विषयमा उठाउनुभएका मुद्दालाई अविलम्ब सम्बोधन गर्न माग गरेको छ ।

सङ्घका अध्यक्ष प्राध्यापक वासुदेव घिमिरेले एउटै विषयमा बारम्बार एउटै व्यक्तिले सङ्घर्ष गरिरहनुपर्ने बाध्यात्मक स्थिति सिर्जना हुनुले सम्पूर्ण प्राध्यापकवर्गलाई लज्जित तुल्याएको भन्दै आमरण अनशनरत डा केसीले उठाएका सार्वजनिक चासोका विषयको संबोधन गर्न आग्रह गरे ।

संघले अविलम्ब समस्या समाधानमा गरी केसीको जीवनरक्षा गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेका छ ।

त्रिभुवन विश्वविद्यालयका दुई आँखाका रुपमा रहेका चिकित्सा र इन्जिनियरिङ अध्ययन संस्थानलाई स्वायत्त बनाउने नाममा विश्वविद्यालयबाटै ती संस्थान अलग हुनेसम्मको नीतिगत सहमति जनाउनु र त्यसनिम्ति आवश्यक प्रतिवेदन तयार पार्न आयोग गठन हुनुले समस्याको समाधान नहुने भएकाले दुःख लागेको प्राध्यापक घिमिरले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

‘त्रिभुवन विश्वविद्यालयको अखण्डता र गरिमालाई बचाउन अपरिहार्य भएको छ, मेडिकल कलेजहरुको विषयलाई लिएर विश्वविद्यालयकै प्रतिष्ठामा दाग लाग्नेसम्मका जेजस्ता विवादास्पद विषय सार्वजनिक भएका छन् त्यस सम्बन्धमा सम्बन्धित पक्षबाट सत्यतथ्य बाहिर ल्याउन हाम्रो जोड्दार माग छ,’ विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us