तार चोरीका कारण टेलिफोन अवरुद्ध

काठमाण्डु टुडे २०७० माघ ५ गते ४:५५ मा प्रकाशित

दमक, ५ माघ – झापाको दमक नगरपालिका र आसपासको क्षेत्रमा तार चोरी भएका कारण अवरुद्ध रहेको एक हजार ५०० भन्दा बढी ल्यान्डलाइन टेलिफोन अझै पनि सञ्चालन हुन सकेका छैनन् । टेलिफोन सञ्चालन नहुँदा ती क्षेत्रका दर्जनौ‌ टेलिफोन उपभोक्ता मारमा परेका छन् ।

टेलिकम कार्यालय दमकले डेढ वर्ष बित्दा पनि अवरुद्ध टेलिफोन सञ्चालन गर्न सकेको छैन । टेलिकम कार्यालयका प्रावधिक अधिकृत खगेन्द्र कट्वालका अनुसार दमक, लखनपुर, सतासीधाम लगायतका क्षेत्रमा अहिले त्यस्ता टेलिफोन अवरुद्ध रहेको छ । तार चोरी भएको ठाउँमा तार जडान गर्नासाथ फेरि पनि चोरी भएपछि केही गर्न नसकिएको उनले बताए ।

दुई वर्षअघि पटकपटक गरेर ४० लाख ९२ हजार ८१८ रुपैयाँ बराबरको तार चोरी भएको कार्यालयका प्राविधिक अधिकृत कटुवालले जानकारी दिए ।

उपभोक्ताबाट बारम्बार गुनासो आए पनि केही गर्न नसकेको बताउँदै तार चोरी भएर अवरुद्ध बनेका केही टेलिफोन लाइनहरु भने नयाँ प्रविधिबाट सञ्चालनमा ल्याइएको र बाँकीलाई समेत गृहकार्य भइरहेको टेलिकम दमकले जनाएको छ ।

यो प्रविधि प्रयोगले तार चोरी समस्या घट्ने कार्यालयको दाबी छ । दमकको कृष्ण मन्दिर, ढकुरपानी लगायतको क्षेत्रमा एमसान प्रविधिबाट टेलिफोन सञ्चालन गरिएको छ । लखनपुरमा पनि यो प्रविधिबाट टेलिफोन सञ्चालन गर्ने तयारी भए पनि अझै केही महिना लाग्नेसमेत उनले बताए ।

यी टेलिफोन लाइनहरु अवरुद्ध हुँदा टेलिकमलाई मासिक तीन लाख ७५ हजारभन्दा बढी नोक्सान हुँदै आएको पनि बताइएको छ । झापा जिल्लाभर नै तार चोरीको समस्या रहेको छ ।

एक वर्षअघि एकसाथ झापामा १० हजारभन्दा बढी टेलिफोन लाइन तार चोरीका कारण अवरुद्ध बनेका थिए । प्रहरीले गत भदौ १७ गते सुरुङ्गाबाट काजम मिया, वसन्त शर्मा र अक्लेस कामैतलाई पक्राउ गरेर तार चोरीको अभियोगमा मुद्दा चलाएपछि भने अहिले तार चोरी केही रोकिएको छ ।

कन्काई नदीपश्चिम क्षेत्रमा तार चोरी हुने क्रम नियन्त्रण गर्न कतिपय गाविसका बासिन्दाले गस्ती अभियान सञ्चालन गर्दै आएका छन् । लखनपुर र सतासीधामका केही वडामा गाउँलेले त्यस्तो सक्रियता देखाएपछि ती क्षेत्रमा पछिल्ला समय तार चोरी हुने क्रम रोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us