पहिलो बैठकको कार्यसूचीबारे आइतबार छलफल हुने

काठमाण्डु टुडे २०७० माघ ४ गते ०:५७ मा प्रकाशित

New Banesworeकाठमाण्डु, ४ माघ– संविधानसभा सचिवालयले आइतबार संविधानसभामा प्रतिनिधित्व गर्ने ३० राजनीतिक दलसँग संविधानसभाको पहिलो बैठकको कार्यसूचीका विषयमा परामर्श गर्ने भएको छ ।

संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आइतबारका लागि परामर्श बैठकको आयोजना गरेका छन् ।

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले यही माघ ८  गतेका लागि संविधानसभाको पहिलो बैठक बोलाएपछि पहिलो बैठकको कार्यसूचीबारे प्रमुख दलहरु छलफल गर्न लागेका हुन् ।

बैठक बोलाइसकिएको सन्दर्भमा सो बैठकमा प्रस्तुत गरिने के कस्तो कार्यसूची तयार गर्ने भन्ने विषयमा राजनीतिक दलसँग आवश्यक परामर्शका लागि दललाई बोलाएर छलफल गर्न लागिएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

दलसँगको परामर्श बैठकपछि नै पहिलो दिनको अन्तिम कार्यसूचीको निक्र्याेल हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us