सप्तरीमा एक ६ जनाको हत्या

काठमाण्डु टुडे २०७० माघ ४ गते १०:४८ मा प्रकाशित

सप्तरी, ४ माघ – सन् २०१३ मा सप्तरीमा एक पूर्व जनप्रतिनिधिसहित छ जनाको आफ्नै आफन्त तथा नजिकका व्यक्तिबाट हत्या भएको छ ।

इन्सेक सप्तरीले राजविराजमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१३ को वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले सार्वजनिक गरेको प्रतिवेदनमा एक वर्षको अवधिमा सप्तरीमा एक पूर्व जनप्रतिनिधिसहित तीन महिला र दुईजना बालबालिकाको हत्या भएको उल्लिखित छ ।

गत २०६९ जेठ ६ गते सप्तरीको कल्याणपुर गाविस–२ निवासी पूर्व सभासद् सदरुल मियाँ हकको उनकी पत्नी नुरजाँहा र माइली छोरी रुबेदाको योजनामा हत्या भएको इन्सेक प्रतिनिधिको प्रतिवेदनमा जनाइएको छ ।

यस्तै, सप्तरीको रामनगर गाविस २ निवासी उर्मिलादेवी यादवलाई गत २०६९ जेठ २६ गते आफ्नै पति जोगेन्द्र भनिने योगेन्द्र यादवले घाँटी थिचेर हत्या गरेको र बोदे बर्साइन गाविस–६ जाँजर टोलकी २७ वर्षीय हौवा खातुनलाई गत २०७० साउन ३० गते पति मुर्तुजा भनिने दरगुद मोहम्मद मियाँले घाँटीमा सलले बाँधेर घरमै हत्या गरेको घटना प्रतिवेदनमा परेको छ ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१२ निवासी १७ वर्षीया सानु राउतलाई २०७० मङ्सिर २९ गते सप्तरीको मोहनपुर गाविस–६ स्थित कठौना बजारमा पुर्‍याई प्रेमी उदयपुरको त्रियुगा नपा १४ निवासी १८ वर्षीय सुमन विश्वकर्माले विष खुवाई हत्या गरेको, देउरी गाविस–३ का तीन वर्षीय बालक नरेशकुमार साहलाई गत २०७० वैशाख १ गते उनका बुबा २७ वर्षीया रामलाल साहले विष खुवाएकामा २ गते मृत्यु भएको र बथनाहा गाविस ७ की १५ वर्षीया रुवी राउतलाई गत २०७० जेठ ७ गते उनका बुबा ४० वर्षीय चन्द्र राउतले तल्लो जातको केटासँग भागेको भन्दै भाडाका मानिस लगाएर हत्या गरेको प्रतिवेदनमा समेटिएको छ ।

सो प्रतिवेदनमा कथिल बोक्सीको आरोपमा सप्तरीको डिमन गाविसकी इमलादेवी राम, बसबिट्टी गाविस–८ मुसहरनियाँकी ७० बर्षीया जानकी सुतिहार, मलेकपुर गाविस ७ निवासी ४० वर्षीया तुलवादेवी भन्ने खदरी मण्डल र बक्धुवा गाविस ९ की ४० वर्षीया भोटनीदेवी लेखी छिमेकीबाट कुटिएको उल्लिखित छ ।

त्यस्तै, सप्तरीमा सन् २०१३ मा भएका १४ वटा बलात्कारका घटनामा सात बालिका र आठ महिला पीडित भएको र सो अवधिमा भएको ४९ वटा घरेलु हिंसाका घटनामध्ये १२ वटा घटनामा महिला घरबाट निकालिएको प्रतिवेदनमा औँल्याइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us