दार्चुला जान अब भारत टेक्न नपर्ने

काठमाण्डु टुडे २०७० माघ ४ गते ९:०५ मा प्रकाशित

Darchulaकञ्चनपुर, ४ माघ– महाकाली सेती यातायात बस व्यवसायी समिति कञ्चनपुरले पहाडी जिल्ला दार्चुलाका लागि रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ ।

समितिको दिवा सेवाले यात्रुको चाप धान्न नसकेपछि रात्रिकालीन सेवा सुरु गरिएको हो । दार्चुला सदरमुकामसम्म सडक बनेपछि समितिका दुई बस दिवा सेवाअन्तर्गत सञ्चालन हुँदै आएका थिए ।

समितिका अध्यक्ष बाबुराम शर्माले यात्रुको चापअनुसार दिवा सेवा अपुग भएपछि रात्रिकालीन सेवा सञ्चालन गरिएको बताए । ‘दिवा नहुँदा यात्रु भारतबाट आउन बाध्य भए’ उनले भने, ‘भारतीय भूमि भएर आउजाउ गर्नुपर्ने बाध्यतालाई हटाउन रात्रिकालीन सेवा चलाएका छौँ ।’ उनका अनुसार दैनिक एक बस रात्रिकालीन सेवामा सञ्चालन हुनेछ ।

सदरमुकामसम्म गाडी नचल्दा यहाँका बासिन्दा भारतको धार्चुलाबाट पिथौरागढ हुँदै तराई आउने गरेका छन् । पछिल्ला दिन प्रेसका नाम सञ्चालित गाडीबाट ती बासिन्दा ओहोरदोहोर गर्थे ।

विदेशी भूमिबाट स्वदेशमा आउनुपर्ने बाध्यतालाई अन्त्य गर्न समितिले रात्रि सेवा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष शर्माले बताए । समितिले दार्चुलाका गन्ना र गोकुलेश्वरसम्म यातायात सेवा सञ्चालन गर्दै आएको थियो ।

सदरमुकामसम्म सडक पुगेपछि सञ्चालित दिवा सेवा गत असारमा आएको पहिरोले सडक भत्काएपछि केही महिना अवरुद्ध भएको थियो । सडक मर्मतपछि अहिले पुनः यातायात सेवा सञ्चालन गरिएको हो ।

झन्डै चार सय सवारी साधन भएको महाकाली समितिले देशका सबै भागमा सेवा विस्तार गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us