एसएलसी दिन विद्यालय पोसाक अनिवार्य

काठमाण्डु टुडे २०७० माघ ४ गते ७:१७ मा प्रकाशित

Nepali-Studentsसुर्खेत, ४ माघ – यसपटकको प्रवेशिका परीक्षामा सहभागी हुने विद्यार्थीले अनिवार्य रुपमा सम्बन्धित विद्यालयको पोसाक लगाउनुपर्ने भएको छ ।

विगतका वर्षहरुमा विद्यार्थीहरु आफ्नो इच्छाअनुसारको पोसाकमा परीक्षामा सहभागी हुने गरेकामा यसपटक पोसकलाई अनिवार्य गर्न शिक्षा विभागले निर्देशन दिएपछि यहाँको जिल्ला शिक्षा कार्यालयले पनि कडाईका साथ विद्यालयहरुलाई निर्देशन दिएको हो ।

विगतका वर्षहरुमा सुर्खेतमा निजी विद्यालयका विद्यार्थीहरु मात्रै आफ्नो विद्यालयको पोसाकमा परीक्षामा सहभागी हुने गरेका जिल्ला शिक्षा कार्यालयको भनाइ छ ।

सुर्खेतमा विशेषगरी आंशिकतर्फका विद्यार्थीले पोसाक नलगाउने गरेको पाइएकोले यसपटक उनीहरुलाई पनि विद्यालय पोसाक अनिवार्य गरिएको जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले बताए । यसपटक सुर्खेतबाट नियमित र आंशिकतर्फका गरी करिब १० हजार विद्यार्थी प्रवेशिका परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

गत वर्ष २७ वटा परीक्षा केन्द्र रहेको सुर्खेतमा यस वर्ष दुईवटा केन्द्र थप गर्न सिफारिस गरिएको छ । घोरेटा र विजौरामा एक÷एकवटा केन्द्र थप्नुपर्ने भन्दै जिल्ला परीक्षा समन्वय समितिले थप दुईवटा केन्द्रको नाम सिफारिस गरेको हो ।

सुर्खेतमा होमसेन्टर भने यसअघि नै हटाइसकिएको छ । पछिल्लो समय सुर्खेतमा प्रवेशिका परीक्षाको नतिजा खस्कँदै गएकामा यसपटक ३२ प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउने लक्ष्यका साथ अभियानसमेत सञ्चालन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us