३५ दिनभित्र जन्मदर्ता गराउनेलाई उपहार

काठमाण्डु टुडे २०७० माघ ४ गते ७:१४ मा प्रकाशित

babyमहोत्तरी, ४ माघ – महोत्तरी जिल्लाको धीरापुर गाउँ विकास समितिको कार्यालयले आफ्नो गाविसभित्र जन्मेका बालबालिकाको ३५ दिनभित्र जन्मदर्ता गराउने अभिभावकलाई उपहार दिने घोषणा गरेको छ ।

सो गाविसका सचिव राजेशकुमार शर्माले धीरापुर गाविसभित्र जन्मने प्रत्येक बालबालिकालाई जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराइएमा अभिभावकलाई उपहार दिने घोषणा गरेका हुन् । उनले जन्मदर्ताका लागि आउने प्रत्येक बच्चालाई गाविसको कार्यालयले एक थान लालतेल उपलब्ध गराउने बताए ।

नवजात शिशुको स्याहार, शारीरिक वृद्धि, बलियोपना र छिटो विकासका लागि लालतेल सहायक रहेको भन्दै सचिव शर्माले आफ्नो गाविसभित्र जन्मने बालबालिकाहरुलाई समयमै जन्मदर्ता गराइएमा सो तेल उपहार स्वरुप उपलब्ध गराइने जानकारी दिए ।

गाविसमा जन्मदर्ता दर बढाउन र बालबालिकाहरुको अधिकार सुरक्षित गर्न यो अभियान चलाइएको उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us