नेपाल विश्वकपमा छानिने सम्भावना कति ?

काठमाण्डु टुडे २०७० माघ ४ गते ८:०४ मा प्रकाशित

nepali-cricket-players-in-dubaiकाठमाण्डु, ४ माघ – एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनौट चरण अन्तर्गत सुरुका दुई खेलमा पराजित भएपछि नेपालले सन २०१५ को एकदिवसीय विश्वकप खेल्ने सम्भावना निकै कमजोर बनेको छ ।

चीरप्रतिद्वन्द्वी युएईसँग १ सय २ र एकदिवसीय खेलका लागि नयाँ प्रतिद्वन्द्धी स्कटल्याण्डसँग ९० रनले पराजित भएको नेपाल विश्वकपमा छनौट हुने सम्भावना अझैपनि पूर्ण रुपमा सकिएको छैन ।

बर्मुडामा सम्पन्न डिभिजन ‘थ्री’मा यसैगरी सुरुका दुई खेल गुमाएपनि त्यसपछिका खेलहरुमा सानदार जित दर्ता गरेर च्याम्पियन बन्दै नेपालले विश्वकपको अन्तिम चरणको छनौटमा स्थान बनाएको हो । त्यसैले पनि धेरै नेपालीले अझै त्यहि क्षणको स्मरण गर्दै नेपाल विश्वकपमा छनौट हुने सपना देखिरहेका छन् ।

कप्तान पारस खड्का र भरपर्दा ओपनर सुवास खकुरेल बिना नै मैदान उत्रिएको नेपालले कमजोर प्रदर्शन गरेपनि दुबैजना टिममा फर्किएपछि प्रदर्शनमा सुधार आउने धेरैको अपेक्षा छ ।

अघिल्लो चरण प्रवेशको सम्भावना कति ?

point table

अनिवार्य सर्त दुबै खेलमा जित

नेपालले अन्तिम ६ मा स्थान बनाउनका लागि सबैभन्दा पहिला त आफूले खेल्न बाँकी दुबै खेल जित्नुपर्छ । नेपालले अब चीरप्रतिद्वन्द्वी हङकङ र क्यानडासँग खेल्न बाँकी छ । समूहमा रहेका पाँचवटै देशले अब २–२ खेल खेल्न बाँकी छ । फराकिलो जितको लक्ष्यसहित मैदान उत्रने नेपालले दुबै देशलाई जित्ने सम्भावना छ ।

ट्वान्टी–ट्वान्टी विश्वकपका लागि छनोट हुने क्रममा हङकङलाई हराएको नेपालले एकदिवसीय क्रिकेटमा सन २००८ पछिका खेलहरुमा हङकङलाई पराजित गर्दै आएको छ । यस्तै पछिल्लो समय खराब फर्मबाट गुज्रिएको क्यानडालाई हराउनु पनि नेपालका लागि ठूलो चुनौति होईन ।

यस हिसाबले हेर्दा नेपालले आफ्नो बास्तविक क्षमता प्रदर्शन गर्ने हो भने दुबै खेल जित्ने सम्भावना छ ।

जितपछि अरुको नतिजामा भर
नेपालले आफूले दुबै खेल जितेर मात्रै पनि अघिल्लो चरणमा प्रवेश गर्न सक्दैन, त्यसका लागि अन्य खेलमा पनि आफू अनुकुलको नतिजा आउनु पर्ने हुन्छ । भाग्यले फेरि एक पटक साथ दिने हो भने नेपाल छनौट हुनका लागि यस्तो समीकरण आवश्यक छ ।

समीकरण १ : युएईले बाँकी खेलमा स्कटल्याण्ड र हङकङ दुबैलाई पराजित गर्नुपर्छ । हङकङ नेपाल र युएई दुबैसँग पराजित भएमा उसको ४ अंकमात्र रहनेछ । क्यानडा नेपालसँगको हारपछि अघिल्लो चरणमा प्रवेश गर्न सक्ने छैन ।

यस्तो अवस्थामा युएई स्वत: अघिल्लो चरणमा जाने छ, बाँकी तीन टिम नेपाल, हङकङ र स्कटल्याण्डको (क्यानडासँगको खेल जितेको खण्डमा) समान ४ अंक हुने भएकाले नेट रनरेटमा अघि रहने दुई टिम अघिल्लो चरणमा जान सक्नेछन् ।

समीकरण २ :  स्कटल्याण्ड क्यानडा र युएई दुबैसँग पराजित हुनुपर्छ । यसअघि नै हङकङसँग पराजित भइसकेकाले स्कटल्याडको बाँकी दुई हारले नेपाललाई अघिल्लो चरण प्रवेश गर्ने बाटो खुल्नेछ । यस्तो अवस्थामा नेपाल, युएई र हङकङ अघिल्लो चरणमा पुग्ने छन् । नेपालका लागि अघिल्लो चरण प्रवेश गर्ने सबैभन्दा सजिलो बाटो यहि हो ।

समीकरण ३ : युएईले बाँकी दुबै खेल गुमाउनु पर्ने हुन्छ । यस्तो अवस्थामा नेपाल, युएई, हङकङ र स्कटल्याण्ड चारवटै टिमको समान ४ अंक हुनसक्छ । जसमा नेट रनरेटमा अघि रहने टिम अघिल्लो चरणमा प्रवेश गर्नेछ । त्यसका लागि नेपालले बाँकी दुई खेलमा फराकिलो जित दर्ता गर्नु आवश्यक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us