गएरातिबाट मुगुमा भारी हिमपात

काठमाण्डु टुडे २०७० माघ ४ गते ५:१० मा प्रकाशित

mugu-snowमुगु, ४ माघ – मुगुमा गएरातिबाट भारी हिमपात भइरहेको छ । एक्कासी रातिबाट हिउँ पर्न थालेपछि सडक यातायात अबरुद्ध भएको छ । दैनिकजसो २० वटासम्म मालबाहक गाडी सुर्खेत नेपालगन्जदेखि मुगु सदरमुकाम गमगढीसम्म व्यापारिक सामान लिएर जाने गरेका छन् ।

शुक्रबार रातिबाट नै हिउँ पर्न थालेपछि गमगढी पुगेका गाडी गमगढीमा नै छन् भने बाटोमा रहेका गाडी बीचमा नै रोकिएका छन् ।

हिमपातले गर्दा रारा ताल्चा विमानस्थलमा नेपालगन्ज, सुर्खेत तथा राजधानी झर्ने बिरामी र सर्वसाधारण यात्रुहरू अलपत्र परेका छन् । यता हिउँ पर्न थालेपछि किसानहरू भने हिउँदे बालीको उत्पादन राम्रो हुने आशामा खुसी देखिएछन् ।

एकाबिहानै गमगढी बजारमा तरकारी बेच्न आएकी श्रीनगर गाविस–८ हेर्निकाध गाउँकी रामदेवीले बुढा खुसी व्यक्त गर्दै भनिन्, ‘यो वर्ष पटकपटक गरी हिउँ परेर केही असहज भए पनि हिउँदे बाली जौ, गहुँलगायतका बालीको उत्पादन राम्रो हुने भयो ।’

हिमपातका कारण अत्यधिक जाडो भएपछि गमगढी बजार सनुसान छ ।

जिल्लाका करान क्षेत्रका मुगु, किम्री, पुलु,डोल्फु, र माँग्री, सदरमुकाम आसपासका रोवा, रुगा, पिना, श्रीनगर र कार्कीवाडा, खत्याड क्षेत्रका सेरी, श्रीकोट, खमाले र गम्था तथा सोरुका रारा, कालै, धैनकोट, जिमा र फोतु गाविसमा बढी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us