राजविराज विमानस्थल गौचरणमा परिणत

काठमाण्डु टुडे २०७० माघ ४ गते ३:०८ मा प्रकाशित

bhaiseeसप्तरी, ४ माघ – सरकारी उदासीनताका कारण सप्तरीको राजविराज विमानस्थल अहिले गौचरण र खेल मैदानमा परिणत भएको छ ।

विमानस्थलको धावनमार्ग ग्राभेल नहुँदा लामो समयदेखि विमान उडान हुन छाडेपछि विमानस्थल गौचरण र खेल मैदानमा परिणत भएको हो । विमानस्थलको रन–वेमा ग्राभेल गर्ने काम पनि गुणस्तरहीन भएको छ भने विमानस्थलमा घाँस उम्रिएको छ ।

सो विमानस्थलबाट २०५२ साल वैशाखबाट नियमित उडान भएको छैन । विमानस्थल कालोपत्रे नहँुदा पटकपटक विमान सेवा सञ्चालन र स्थगित हुँदै आएको छ ।

विगतमा सो विमानस्थलबाट हप्ताको दुईपटक सोमबार र बिहीबार काठमाडौँ उडान गर्दै आएको थियो । उडान सेवा बन्द भएपछि सगरमाथा अञ्चलका जनताहरु विमान चढ्न विराटनगर र जनकपुर जाने गरेका छन् ।

हाल सो विमानस्थलमा एक प्रमुख, एक पियन र दुई चौकीदार गरी तीनजना कर्मचारीको दरबन्दी रहेको छ । प्रमुख र पियन विराटनगर विमानस्थलमा काजमा छन् भने दुई चौकीदार विमानस्थलमै कार्यरत छन् ।

राजविराज नगरपालिकाबाट चार किलोमिटर दक्षिणमा पर्ने इटहरी विष्णुपुर गाविसमा अवस्थित राजविराज विमानस्थलको २०१६ सालमा उद्योग मन्त्री रहनुभएका स्व गणेशमान सिंहले शिलान्यास गर्नुभएको थियो ।

सो विमानस्थलका लागि ५५ बिघा जग्गा स्थानीय रुद्रनारायाण सिंहले उपलब्ध गराएका थिए ।

सुरुमा राजविराज विमानस्थलको रुपमा स्थापित विमानस्थलको नाम सरकारले परिणत गरी गजेन्द्रनारायण सिंह विमानस्थल नामाकरण गर्दा समेत दाता परिवारले आपत्ति जनाएका छन् । जग्गादाता रुद्रनारायण सिंहका छोरा महामायाप्रसाद सिंहले गजेन्द्रनारायण सिंह विमानस्थल नाम राखिएकोमा आपत्ति जनाएका छन् ।

तत्कालीन मनोनित जिल्ला विकास समिति सप्तरीका सभापति सचिन्द्र यादवको कार्यकालमा आठ वर्षअघि राजविराज विमानस्थलको धावन मार्ग कालोपत्रे गरिने सर्वपक्षीय निर्णय भएको थियो ।

स्थानीय विकास मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको करिब  रु एक करोडको लागतमा कालोपत्रे गर्न छ वर्षअघि एक समिति गठन गरिएको थियो ।

दुई वर्षअघि सर्वदलीय, सर्वपक्षीय प्रयासमा जिल्ला विकास समिति सप्तरीले रु दुई करोड र नागरिक उड्डयन प्राधिकरणले रु दुई करोड बजेट छुट्याएपछि विमानस्थलको रन–वेमा ग्राभेल र हवाई मैदानको तारबार गर्ने काम २०६७ साउनमै सुरु भएको थियो ।

तर, गत असोजमै सकिनुपर्ने काम अहिलेसम्म पूरा हुन सकेको छैन् भने ठेकेदार समेत बेपत्ता भएको स्थानीय बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us