दूधको मूल्य ३३ प्रतिशत बढाउन माग

काठमाण्डु टुडे २०७० माघ ४ गते १:५८ मा प्रकाशित

milk-collection_gचितवन, ४ माघ – चितवनका दूध उत्पादक किसानहरुले दूधको मूल्य कम्तिमा पनि ३३ प्रतिशत बढाउन माग गरेका छन् ।

अहिलेको मूल्यले उत्पादन लागतसमेत उठाउन मुस्किल परेको भन्दै दूधको मूल्य कम्तिमा पनि प्रतिलिटर ४५ पु¥याउनु पर्ने व्यावसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका अध्यक्ष आनन्द न्युरेले बताए ।

हाल किसानले प्रतिलिटर ३० देखि ३५ पाउँदै आएका छन् । तर उपभोक्ताले अहिले फ्याट ननिकालेको दूध प्रतिलिटर ६० र फ्याट निकालेको ५० मा खरिद गर्दै आएका छन् । फ्याट निकालेको र ननिकालेको दूधको मूल्यमा २० देखि ३० सम्मको अन्तरलाई १० मात्रै बनाउन पनि किसानले सरकारसँग माग गरेका छन् ।

सरकारले दूधको व्यावसायिकतामा ध्यान नदिने हो भने किसान दुग्ध व्यवसाय छाड्न वाध्य हुने भन्दै चितवनका अगुवा कृषक पूर्णदत्त भुसालले बीचका माफियाले दूधको नाफा लिइरहेको तर वास्तविक किसानलाई भने मार परिरहेको बताए ।

यता दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले दूधको मूल्य समायोजनका लागि अध्ययन भइरहेकाले १० दिनभित्रमा मूल्य निर्धारण हुने जानकारी दिए । उनले कति बढाउने भनेर तय भइनसकेको बताए ।

कृषक विनोद सापकोटाले लामो समयदेखि मूल्य नबढेर किसान मारमा परेको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । नेपालमा अहिले दैनिक १२ लाख दूध उत्पादन हुन्छ । चार लाख लिटर दूध अपुग भएकाले बाहिरबाट आयात हुँदै आएको छ ।

चितवनमा दुई लाख लिटर दूध उत्पादन हुँदै आएको छ । चितवनमा २०० किसान व्यावसायिक दुग्ध व्यवसायमा संलग्न छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us