अवैध रुपमा भिर माहुरीको मह निकालिँदै

काठमाण्डु टुडे २०७० माघ ४ गते १:२६ मा प्रकाशित

SONY DSCम्याग्दी, ४ माघ – म्याग्दी जिल्लाका विभिन्न ठाउँमा अवैध तरिकाले भिर माहुरीको मह निकाल्ने क्रम बढ्दै गएको छ । जिल्ला वन कार्यालयमा इजाजत लिएर निश्चित परिमाणमा मात्रै मह निकाल्न सकिने प्रावधान भए पनि स्थानीयस्तरमा आफूखुसी मह निकाल्ने प्रचलन बढेको हो ।

जिल्लामा अहिले न्यून मात्रामा इजाजत लिएर मह सिकार हुने गरेको जिल्ला वन कार्यालयका रेञ्जर नेपाली शाहले बताए ।

वन कार्यालयका अनुसार जिल्लाको मुदीमा ३००, गुर्जामा २००, चिमखोलामा १००, लुलाङमा ५०, कुइनेमंगलेमा ५०, दरबाङमा ४०, रुममा ४०, ओखरबोटमा ४०, मल्कबाङमा ४०,  मराङमा ३०, देवीस्थानमा ३०, निस्कोटमा ३०, मुना २० र दग्नाम गाविसमा १० किलो भिर मौरीको मह संकलन गर्न सकिन्छ ।

करिब ६०० किलो मह सङ्कलन इजाजतका लागि मात्रै निवेदन आउने गरेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०६९÷७० मा जिल्लाबाट ६३० किलो मह निर्यात भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

भिर महलाई व्यापारीले ग्रामीण भेगमा ४०० र बजार क्षेत्रमा ६०० रुपैयाँ प्रतिकेजीको दरले बिक्री वितरण गर्दै आएका छन् । वर्षको दुईपटक  सङ्कलन गर्न सकिने भिर मौरीको मह निकाल्ने काम निकै जोखिमपूर्ण मानिने गर्छ ।

गुलियो, स्वादिलो र विभिन्न रोगको औषधिको रुपमा प्रयोग हुने मह संकलनपछि चोर बाटो हुँदै देशका विभिन्न ठाउँमा अवैध तरिकाले निर्यात हुने गरेको छ । जिल्ला वन कार्यालयका अनुसार जिल्लाको विभिन्न गाविसमा दुई सिजनमा गरी एक हजार २०० किलो मह निकाल्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us