के गर्दैछन् युवा फुटबलर विमल घर्ती ?

काठमाण्डु टुडे २०७० माघ ३ गते १३:१२ मा प्रकाशित

Bimal-Ghartiकाठमाण्डु, ४ माघ – दक्षिण एसियाली साफ फुटबल प्रतियोगिता अन्तर्गत पाकिस्तान विरुद्धको खेलमा नेपाललाई हारको मुखबाट जोगाउन इन्जुरी समयमा महत्वपूर्ण गोल गरेका युवा स्ट्रईकर विमल घर्ती मगर एकाएक सेलिब्रेटी नै बने ।

नेपालमा मात्रै नभएर विदेशमासमेत उनको क्षमताको राम्रै चर्चा भयो र केही समय अघि नेदरल्याण्डमा गएर आफ्नो खेल देखाउने सौभाग्य प्राप्त गरे ।

यी सेलिब्रेटी युवा स्ट्रईकर अहिले के गर्दै छन् त ? धेरैको यस्तै जिज्ञासा हुनसक्छ । काठमाण्डु टुडेले तपाईंहरुको जिज्ञासा मेटाउने प्रयास गरेको छ ।

विमल घर्ती मगर यतिबेला गृहजिल्ला नवलपरासीमा जाडो बिदा मनाइरहेका छन् ।

१० कक्षामा पढ्दै गरेका १६ वर्षे यी ठिटो बिदा मनाउन त्यता गएका हुन् ।

एन्फा एकेडेमी बुटवलका उत्पादन विमल काठमाण्डुमा पनि एन्फा एकेडेमीमै बस्दै आएका छन् । सामाखुसीको तक्षसिला एकेडेमीमा पढ्दै गरेका विमललाई काठमाण्डु टुडेले सम्पर्क गर्दा उनले यसो भने :

म अहिले नवलपरासी घर आएको छु । १५ दिन भयो म घर आएको । स्कूलमा जाडो बिदा भएकाले बिदा मनाउन यता आएको हुँ । म काठमाण्डुको तक्षसिला एकेडेमीमा कक्षा १० मा पढ्दैछु ।

एसएलसी परीक्षा नजिकिएकाले त्यसको तयारीमा पनि छु । अहिले एसएलसीकै तयारीमा कोचिङ चलिरहेको छ । एसएलसीको तयारीसँगसँगै थाइल्याण्डमा हुने  एएफसी यु–१६ को तयारी पनि  चलिरहेको छ।

मलाई मनपर्ने क्लब मनाङ मर्स्याङ्दी

पाकिस्तान विरुद्ध मैले गोल गरेपछि मेरो देश त हारबाट जोगियो नै व्यक्तिगत रुपमा पनि मलाई केही गर्न सक्छु भन्ने आत्मविश्वास दियो । त्यसपछि मलाई विभिन्न क्लबबाट व्यवसायीक फुटबल खेल्ने प्रस्तावहरु आइरहेका छन् । तर मैले अहिलेसम्म कुनै सोच बनाएको छैन ।

मलाई नेपालका फुटबल टिममध्ये एमएमसी (मनाङ मर्स्याङ्दी)क्लव धेरै मनपर्छ । मलाई यो क्लवबाट खेल्ने ईच्छा छ । तर अहिलेसम्म अफर भने आइसकेको छैन । मनाङले बोलाएमा म अहिले पनि त्यो क्लवमा जान तयार छु ।

नेदरल्याण्ड्समा सुविधा धेरै छन्

मैले सानो उमेरमा भाग्यवस नेदरल्याण्डमा गएर खेल्ने मौका पाएँ । यो मेरा लागि ठूलो उपलब्धि हो । मैले त्यहाँ सकेजति मेहनत गरें । दुई खेलमा ४ गोल गरें । हरेक खेलपछि भएका मिटिङहरुमा प्रशिक्षकले हामीलाई धेरै कुराहरु भन्नुहुन्थ्यो ।

मलाई उहाँले त्यहाँ पनि अवसर मिल्यो भने बोलाउँछु भन्नु भएको छ । यदि नेदरल्याण्डबाट त्यस्तो अवसरका लागि बोलाइयो भने म खेल्न जान्छु । नेपाल र नेदरल्याण्डमा खेल्नुमा धेरै फरक छन् ।

त्यहाँ खेलाडीले पाउने सुविधा धेरै छ । खेल मैदानहरु पनि निकै राम्रा छन् । यदि नेदरल्याण्डको जत्तिको सुविधा पायौं भने हामी पनि त्यती नै खेल्न सक्छौं ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us