वित्तीय संस्थाको लेखा परीक्षण नगर्ने लेखापरीक्षकको घोषणा

काठमाण्डु टुडे २०७० माघ ३ गते ११:२० मा प्रकाशित

काठमाण्डु, ३ माघ – नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ र नेपाल अडिटर्स एशोसियसनले संयुक्त संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट जगदिश अग्रवाल तथा गोपालकुमार अग्रवाललाई एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आन्तरिक लेखापरीक्षण प्रतिवेदन माथि खोट देखाई पक्राउ गरी थुनामा राखेको भन्दै ४ सूत्रीय मागसहित संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।

दुवै संस्थाले रिपोटर्स क्लबमा संयुक्त पत्रकार सम्मेलन गरि हाल थुनामा रहेका वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट गोपालकुमार अग्रवाललाई तुरुन्त रिहा गरी उनीहरुमाथि लगाईएको भुठा मुद्दा तत्काल फिर्ता हुनुपर्ने, लेखापरीक्षण गरेकै कारण कुनैपनि लेखापरीक्षकलाई गैर कानुनी रुपमा पक्राउ गरी थुनछेक गरी झुटामुद्दा लगाउने कार्य तत्काल बन्द गरिनुपर्ने जस्ता चार सूत्रीय माग अघि सारेका छन् ।

पात्रकार सम्मेलनमा माघ ३ गतेदेखि अनिश्चितकालसम्म बिमा समितिद्वारा इजाजतप्राप्त नियमन गरिने सम्पूर्ण बिमा कम्पनीहरुमा, नेपाल राष्ट्र बैंकद्वारा इजाजतप्राप्त नियमन गरिने सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुमा माघ १५ देखि, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा भएका सम्पूर्ण निकायहरुमा चैत्र १ गतदेखि लेखापरीक्षण प्रतिवेदन जारी तथा प्रमाणिकरण सम्बन्धी सम्पुर्ण कामहरु स्थगित गर्नेेसम्मका बिभिन्न बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका अध्यक्ष भरत रिजालले लेखा तथा लेखापरीक्षक पेशालाई अनधिकृत  रुपले धरासायी बनाउन राज्यबाटै षड्यन्त्र भएको आरोप लगाए ।

उनले नेपाल चार्टर्ड एकाउण्टेण्ट ऐनमा सदस्यहरुको हकहित सुरक्षा एवं प्रतिष्ठाका लागि आवाज उठाउनुपर्ने व्यवस्था भएपनि नेपाल चार्टर्ड एकाउण्टेण्टस् संस्था मौन रहेकोमा आपत्ति जनाए ।

नेपाल अडिटर्स एशोसियसनका अध्यक्ष मोहनराज रेग्मीले वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट गोपालकुमार अग्रवाललाई तत्काल रिहागरी दुवैमाथि लगाईएको झुठा मुद्दा तत्काल फिर्ता नगरे सडक संघर्ष गर्ने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us