काठमाण्डुमा तीन सय सौर्य बत्ती जडान हुने

काठमाण्डु टुडे २०७० माघ ३ गते १०:२३ मा प्रकाशित

Solarकाठमाण्डु, ३ माघ – विद्युत् भार कटौतीका कारण अँध्यारोमा बस्न बाध्य काठमाण्डु महानगरपालिकाका बासिन्दालाई केही मात्रामा भएपनि राहत दिन काठमाण्डु महानगरपालिकाले तीनसय वटा सौय बत्ती जडान गर्ने भएको छ ।

एसियाली विकास बैंकको सहयोगमा महानगरले रणनीतिक महत्वको क्षेत्रमा पहिलो चरणमा सौर्य बत्ती जडान गर्न लागेको हो । सौर्य बत्ती जडान गर्न बैंकले ३८ करोड सहयोग गरेको छ ।

महानगरका कार्यकारी अधिकृत लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा दरबारमार्ग, बसन्तपुर, सिंहदरबार, केशरमहल, भद्रकाली, थापाथली, विमानस्थल आसपासमा सौर्य बत्ती जडान गरिने छ । यसका लागि लागि नेपाल विद्युत् प्राधिकरण र महानगरको संयुक्त पहलमा प्रक्रिया अगाडि बढ्ने भएको छ । आगामी मार्चदेखि जडानको काम सुरु हुने र एक वर्षभित्र सौर्य बत्ती जडान गरिसक्ने छ ।

प्रक्रियागत कमजोरीका कारण काम तोकिएकै समयमा सुरु हुन नसकेको भन्दै उनले आगामी मार्चदेखि भने काम सुरु हुने दावी गरे । महानगरले स्वतन्त्र रुपमा काम गर्न पाएको भए प्रमुख स्थानमा यसअघि नै सौर्य बत्ती जडान भइसक्ने भन्दै कार्यकारी अधिकृत अर्यालले प्राधिरकरणले धेरै प्रक्रिया खोजेका कारण काम सुरु हुन नसकेको बताए ।

यो काम अन्तर्गत पहिलो चरणमा सयवटा बत्ती जडान गरिने र दोस्रो चरणमा दुईसयवटा बत्ती जडान गरिने भएको छ । महानगरले जडान गर्न लागेको ब्याट्री आठ वर्षसम्म सहज रुपमा सञ्चालन हुने जनाइएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us