रावल भन्छन्–‘राष्ट्रपति परिवर्तन गर्नु हुन्न’

काठमाण्डु टुडे २०७० माघ ३ गते ९:२६ मा प्रकाशित

bhim-rawalकाठमाण्डु, माघ ३ – पार्टीका अन्य नेताले नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका बेला नेकपा एमालेका नेता भीम रावलले भने तत्काल राष्ट्रति परिवर्तन गर्न नहुने बताएका छन् ।

रिपोटर्स क्लवले शुक्रबार आयोजना गरेको साक्षात्कारमा रावलले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको विषय गौण भएको बताए ।

‘अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गरेर एक वर्षभित्र संविधान जारी भएपछि नयाँ चुनावको प्रक्रियामा जाँदा संविधान बन्छ र मुलुकले पनि निकास पाउँछ, रावलले भने, ‘एमाले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गरिहाल्नुपर्छ भन्ने पक्षमा छैन ।’

नेता रावलले संविधानसभाको पहिलो प्राथमिकता संविधान बनाउनु भएकाले सबै राजनीतिक दलको ध्यान संविधान निर्माणमै लगाउनु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुको विकल्प नभएको र दुई दलबीच पावर सेयरिङका लागि कांग्रेसले एमालेसँग सहमतिका प्याकेज ल्याउनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको कुरा बेमौसमी बाजा भएको बताए । उनले भने, ‘एमालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई यो संविधानसभाले चिन्दैन भन्नु गलत हो ।’

कांग्रेस कुनै पनि हालतमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्ने पक्षमा नभएको र परिवर्तनको सम्भावना पनि नरहेको उनको भनाई छ । ‘हामीलाई सपथ गराउने ज्येष्ठ सदस्यले नै राष्ट्रपतिसँग सपथ खाँदैछन् भने एमालेले त्यस्तो तर्क गर्न सुहाउँछ ?’ केसीको प्रश्न छ ।

केसीले कांग्रेसभित्र सरकारको नेतृत्वलाई लिएर बहस भइरहेको भन्दै १५गतेभित्र संसदीय दलको नेता सर्वसम्मतिले चुनिने ठोकुवा गरे । सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच सहमति नभए प्रक्रियामा गएर भए पनि यो विवाद टुंग्याउने उनको दावी छ ।

कार्यक्रममा राप्रपाका नेता पशुपतिशमशेर राणाले कांग्रेस र एमाले मिलेरै सरकार बनाउनुको विकल्प नभएको बताए । दुवै दलले आग्रह गरेमा राप्रपा पनि सरकारमा जान तयार रहेको उनको भनाइ थियो ।

यसैबीच, नेकपा–माओवादीका सचिव देव गुरुङले भने गोलमेच सभाबाट विगतको संविधानसभामा सहमति हुन नसकेका अन्तर्वस्तुमा छलफल गरी जुनसुकै प्रक्रियाबाट संविधान जारी गर्न सकिने धारणा राखने ।

संविधानसभा विघटनको माग गर्दै उनले संविधानसभाको पहिलो बैठकको दिनमा कालो झन्डा देखाएर विरोध गर्ने बताए । यो संविधानसभाले मुलुकलाई नयाँ संविधान दिन नसक्ने र दिएमा पनि कार्यान्वयन नहुने गुरुङको ठोकुवा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us