महिला सेलका उजुरी अधिकांश मिलापत्र

काठमाण्डु टुडे २०७० माघ ३ गते ७:०३ मा प्रकाशित

काठमाण्डु, ३ माघ – ओखलढुङ्गा, ३ माघ – जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाको महिला सेलमा आएका अधिकांश उजुरी मिलापत्र हुने गरेका छन् । गत साउन १ गतेदेखि पुस महिनाभरि दर्ता भएका ४० उजुरीमा ३० वटा मिलापत्र भएका छन् ।

उजुरीकर्ता मिलापत्र गर्न तयार भएपछि उजुरी प्रक्रियामा नगएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगीरथ रेग्मीले बताए ।

चालीस उजुरी आएकोमा १० वटा छलफलमा रहेको रेग्मीले जानकारी दिए । प्राप्त उजुरीमा गाली बेइज्जती र जग्गासम्बन्धी विवादका बढी भएको तर महिला हिंसासम्बन्धी मुद्दाको रुपमा नआएको उनको भनाई छ ।

महिलाले दिएका उजुरीमा सम्पत्ति भोगचलन, गाली बेइज्जती, कुटपिट गर्ने लगायतका रहेका र दुवैपक्षबीच छलफल हुँदा मिल्न तयार हुने भएकाले मुद्दाको रुपमा अगाडि नबढेको प्रहरीले जनाएको छ । महिला तथा बालबालिका कार्यालयमा आएका उजुरी पनि अधिकांश मिलापत्र हुने गरेका छन् ।

पीडित नै मिल्न तयार हुने भएकाले कारबाही नहुने गरेको महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख सरिता तामाङले बताईन् ।

गत साउनयता नौ वटा उजुरी आएकामा अधिकांश मिलेका र केही अदालतमा मुद्दा दर्ता भएका उहाँले बताउनुभयो । महिला सेलका उजुरी भने मुद्दाको रुपमा दर्ता भएर अदालतसम्म गएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us