सुशीलले प्रचण्डलाई भने,‘मिलेर सरकार बनाऔं’

काठमाण्डु टुडे २०७० माघ ३ गते ३:१२ मा प्रकाशित

Sushil-and-Prachandकाठमाण्डु, ३ माघ–नेपाली काँग्रेसले मिलेर सरकार बनाउन एकीकृत नेकपा माओवादीलाई प्रस्ताव राखेको छ । शुक्रबार विहान एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तामा काँग्रेस सभापति सुशील कोइरालाले सरकार गठन र संविधान निर्माणमा सहमतिको साथ अघि बढ्न आफू तयार रहेको बताएका हुन् ।

प्रचण्ड निवास लाजिम्पाटमा शुक्रबार विहान भएको भेटवार्तामा कोइरालाले सरकारमा आए सम्मानजनक स्थान दिने प्रतिबद्धता जनाएका थिए । तर, प्रचण्डले अहिले सरकारमा जाने सोंच नबनाएको भन्दै केन्द्रीय समिति बैठकबाट स्पष्ट निर्णय लिने जवाफ दिएका थिए । बहुमतीय सरकारमा एमाओवादी सहभागी नहुने उनको स्पष्टोक्ति थियो ।

आफैले सरकारको नेतृत्व लिन लागेका काँग्रेस सभापति कोइरालाले बिभिन्न राजनीतिक दलसँग परामर्श जारी राखेका छन् । उनले विहीबार एमालेका शीर्ष नेताहरुसँग पनि परामर्श गरेका थिए ।

शुक्रबार विहान प्रचण्डसँगको छलफल पनि सत्ता साझेदारीको विषयमा केन्द्रित थियो । सरकारमा एमाओवादी पनि सहभागी भए नयाँ संविधान जारी गर्न सहज हुने भएकाले काँग्रेस सभापति कोइरालाले त्यसको प्रयास जारी राखेका छन् ।

पदाधिकारीहरुसहित प्रचण्ड निवास पुगेका कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पनि छलफल गरेका थिए । काँग्रेस राष्ट्रपति–उपराष्ट्रपति हालकै कायम राख्ने पक्षमा भए पनि एमाले र एमाओवादी परिवर्तन गर्नुपर्ने पक्षमा छन् । केहीदिन अघिसम्म यस विषयमा मौन रहेको एमाओवादीले केन्द्रीय समिति बैठकमा नयाँ जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपति चयन हुनुपर्ने प्रस्ताव लगेपछि काँग्रेस अप्ठेरोमा परेको छ ।

छलफलमा काँग्रेसको तर्फबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा केन्द्रीय सदस्य रामशरण महत सहभागी थिए । एमाओवादीको तर्फबाट भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृष्णबहादुर महरा मात्रै सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us