सुनकोसी–२ आयोजनाको डिपिआरको काम सुरु हुने

काठमाण्डु टुडे २०७० माघ ३ गते २:५४ मा प्रकाशित

काठमाण्डु, ३ माघ–सरकारले हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाका रुपमा रहेको सुनकोसी दोस्रो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सुरु गर्ने भएको छ ।

रामेछाप र सोलुखुम्बु जिल्लाको सीमामा आयोजनास्थल रहने सो जलविद्युत् आयोजना निर्माणाधीन आयोजनामध्ये सबैभन्दा ठूलो हो । कुल एक हजार १११ मेगावाट क्षमताको सो आयोजना जलाशययुक्त छ ।

विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार डिपिआरका लागि पूर्व तयारीको काम भइरहेको र केही समयभित्रै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । गत मंसिर १४ गते सोही आयोजनाको डिपिआर तयार पार्नका लागि एसियाली विकास बैंक (एडिबी)ले दुई अर्ब नौं करोड १० लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

सरकारले अगाडि सारेको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई सार्थक बनाउनका लागि सो आयोजनाको काम अगाडि बढाउन लागिएको हो । सो आयोजनाको लागत के कति लाग्ने हो भन्ने बारेमा समेत अध्ययनपछि नै थाहा हुने विभागले जनाएको छ ।

नदी प्रवाहमा आधारित मात्रै जलविद्युत् आयोजनाहरु निर्माणका क्रममा रहेका कारण धेरै आयोजना निर्माण भए पनि विद्युत्भार कटौतीको अवस्थामा उल्लेखनीय सुधार नआउने भएकाले जलाशययुक्त आयोजनाहरु निर्माण गर्नुपर्ने माग व्यापक रुपमा उठ्दै आएको छ ।

हाल सरकारले कुल ६०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डिपिआरको काम गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us