बचत तथा ऋण सहकारीमा अनियमितता

काठमाण्डु टुडे २०७० माघ ३ गते २:५१ मा प्रकाशित

भक्तपुर, ३ माघ–गठ्ठाघरस्थित मध्यपुर बचत तथा ऋण सहकारी संस्थामा व्यापक आर्थिक अनियमितता हुने गरेको छ । आर्थिक अनियमितता कारण संस्था धराशायी बन्दै गएको र निक्षेपकर्ताको बचत जोखिममा परेको छ ।

संस्थामा ऋण लगानी गर्दा सञ्चालक समितिका जिम्मेवार पदाधिकारी र उनीहरुका आफन्त नातेदारहरुलाई तमसुक नै नगराई ऋण दिने गरेको संस्थाको सञ्चालक समितिका निवर्तमान एक पदाधिकारीले जानकारी दिएका छन् । ऋणको भाका नाघेपछि ऋण लगानी गरेको मिति सच्याउने गरिएको छ जसले गर्दा संस्थालाई प्राप्त हुने सेवा शुल्क घाटा हुने गरेको स्रोतले बताएको छ । त्यस्तै तमसुकमा रकम उल्लेख नगर्ने, गरे पनि ऋण लिएको रकमभन्दा निक्कै कम उल्लेख गर्ने गरेको स्रोतको भनाइ छ ।

संस्थाले सहकारी ऐन र आर्थिक नीतिनियमविपरीत ऋण असुल नहुँदै धितो फुकुवा गर्ने गरेको स्रोतले बताएका छन् । आर्थिक कारोबार पारदर्शी नहुनु, सञ्चालक समितिका पदाधिकारीहरुले हिसाबकिताब माग गर्दासमेत जानकारी नदिने गरेको स्रोतले दाबी गरेका छन् ।

संस्थामा सञ्चालक समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको मिलोमतोमा आर्थिक कारोबारमा व्यापक अनियमितता भइरहेको स्रोतले जानकारी दिएका छन् । सञ्चालक समितिका जिम्मेवार पदाधिकारीहरुले व्यक्तिगत प्रयोजनका लागिसमेत संस्थाको लाखौँ रकम प्रयोग गरिरहेको बताउँदै स्रोतले संस्थाको बैठकसमेत नियमित बस्न नसकेको जानकारी दिएका छन् । स्रोतले भन्यो, ‘संस्था पारिवारिक क्लब जस्तै भएको छ । बचतकर्ताको भविष्य राम्रो छैन ।’

संस्थाले सञ्चालक समितिका पदाधिकारीहरुलाई समेत संस्थाको बैठक तथा साधारणसभा र अधिवेशनका निर्णय पुस्तिकाको प्रतिलिपिसमेत उपलब्ध गराइरहेको छैन । यस सम्बन्धमा भक्तपुर जिल्ला अदालतमा शुक्रबार रिटसमेत परेको छ । रिटमा निवेदकले संस्थाको विनियम ४० को उपनियम ३ बमोजिम साधारणसभाको निर्णय उपलब्ध गराउन माग गरेका छन् । सो रिट निवेदनमाथि सुनुवाइ गर्दै गत आइतबार भक्तपुर जिल्ला अदालतले संस्थाका अध्यक्षका नाममा आफै वा कानुनले तोकिए बमोजिमको प्रतिनिधिमार्फत १५ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको छ ।

सञ्चालक समितिका पदाधिकारीहरुको विवादबीच संस्थाको गत मङ्गलबार तेह्रौं साधारणसभा सम्पन्न भएको छ । सभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गरेको छ । २०५७ सालमा दर्ता भएको मध्यपुर बचत तथा ऋण सहकारी संस्थामा कुल ३९७ सेयर सदस्य रहेका छन् ।

संस्थाले गत वर्ष दुई करोड ७१ लाख १२ हजार रुपैयाँ निक्षेप सङ्कलन र ८७ हजार ५५८ रुपैयाँ खुद नाफा गर्न सफल भएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us