एमाओवादी नेतालाई प्रचण्डको यस्तो प्रश्न

काठमाण्डु टुडे २०७० माघ ३ गते २:३७ मा प्रकाशित

UCPNM-CCMकाठमाण्डु, ३ माघ– संबिधानसभा निर्वाचनमा पराजय भोगेर घाइते सिपाही झै भएको एकीकृत माओवादीका नेताहरुसँग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि गम्भीर प्रश्नको जवाफ मागेका छन ।

आफूले मागेका प्रश्नको जवाफ विना पार्टी पुनर्गठन आदर्श मात्र हुने पनि प्रचण्डले स्पष्ट पारेका छन । लामो समयदेखि पार्टीमा बिकसित हुँदै आएको संकटको परिणाम स्वरुप निर्वाचनमा पार्टीले पराजय भोगेको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले पार्टी पराजयका १२ वटा आन्तरिक र १० वटा बाह्य कारणको पहिचान गरेका छन् ।

एमाओवादी केन्द्रीय समितिको जारी बैठकमा केन्द्रीय सदस्यहरुसँग प्रचण्डले आफनो राजनीतिक प्रतिवेदनमा तलका प्रश्नको उत्तर खोजेका छन् ।

उनका प्रश्नहरु यस्ता छन्

आखिर उत्पीडित वर्ग र समुदायको पहिचान र अधिकारका निमित्त संघर्षरत पार्टीको आफनै पहिचान गुम्ने खतरा किन पैदा भयो ?

राष्टिय अन्तराष्टिय शक्ति सन्तुलनको बस्तुगत आँकलनका आधारमा निर्धारित कार्यदिशा क्रियान्वयनको इच्छाशक्ति र तत्परता पार्टीमा किन देखा परिरहेको छैन ?

जनवादी क्रान्तिमा राष्टिय मुक्ति आन्दोलनको सशक्त नेतृत्व गर्दै आएको पार्टी माथि राष्टियता र राष्टिय स्वाधिनताको आन्दोलन कमजोर पारेको आरोप के कारणले लागिरहेको छ ?

जनवादी केन्द्रीयताको बैज्ञानिक संगठनात्मक सिद्धान्त र प्रणालीलाई ध्वस्त पार्दै चरम गुटबन्दीमा रमाउन पार्टीका नेता कार्यकर्तालाई के ले प्रोत्साहित गरिरहेको छ ?

चरम व्यक्तिवादी र अपारदर्शी साँस्कृतिक आचारण सहितको जीवन जीउन हामीलाई के ले प्रेरित गरिरहेको छ ?

हजारौ सहित,बेपत्ता,परिवार तथा जनताका वीचमा रहेका इमान्दार कार्यकर्ताहरुको जीवन चरम,पीडा,अभाव र कष्टले भरिएको देख्दा देख्दै पनि हामीमा समुचित व्यवस्थापनको पहलमा आवश्यक संम्वेदना किन पैदा भइरहेको छैन ?

अभाव गरिबी,बेरोजगारी र भ्रष्टाचारले जनजीवन अस्तव्यस्त भइरहँदा समेत जनसेवा र जनसंघर्षको ठोस कार्यक्रम लिएर अगाडि बढने साहस र इच्छाशक्ति हामीमा किन हराइरहेको छ?

देश,जनता,पार्टी र क्रान्तिका निमित्त तपस्या,त्याग र बलिदान गर्ने महान क्रान्तिकारी स्पीरिटको ठाउँ दिन प्रतिदिन किन चरम आत्मकेन्द्रीत व्यक्तिवाद र अराजकतावादी उपभोक्तावादले लिदै गएको छ ?

एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा शुक्रबारबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावमा छलफल शुरु हुदै छ । प्रचण्डले तयार पारेको राजनीतिक सांगठनिक प्रस्ताव विहीबार सबै केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको थियो ।

सबैको सुझाव समेटेर प्रस्तावलाई अन्तिम रुप दिइने एमाओवादीले जनाएको छ । प्रचण्डको प्रस्तावमा हालको केन्द्रीय समिति विघटन गर्ने, पार्टी संगठन केन्द्र, जिल्ला र स्थानीय गरी तीन तहमा सिमित राख्ने, सबै पार्टी संगठनहरु दुई अंकमा कायम गर्ने, निर्वाचनमार्फत् नेतृत्व चयन गर्नेलगायत प्रस्ताव गरिएको छ ।

साथै दोस्रो संविधानसभा चुनावपछिको नयाँ जनादेश अनुसार राष्ट्रपति–उपराष्ट्रपति पदको लागि निर्वाचन गराउनु पर्ने, संविधान निर्माण र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न सदन र सडकबाट दवाव मुलक कार्यक्रम गर्ने विषय पनि उल्लेख छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us