‘नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा नयाँ आयाम’

काठमाण्डु टुडे २०७० माघ ३ गते १:५६ मा प्रकाशित

madhav-prasad-ghimire-ministerकाठमाण्डु, ३ माघ–परराष्ट्र एवम् गृहमन्त्री माधवप्रसाद घिमिरेले नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा नयाँ आयाम थपिएको दावी गरेका छन् । भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी विहीबार राति स्वदेश फर्किएका मन्त्री घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो भ्रमणबाट नेपाल–भारत सम्बन्ध अझ प्रगाढ तुल्याउन मद्दत पुगेको बताएका हुन् ।

भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद र गृहमन्त्री सुशीलकुमार सिन्धेसँग भएका बेग्लाबेग्लै भेटवार्तामा द्विपक्षीय परामर्श संयन्त्रका लामो सयमदेखि अवरुद्ध रहेका बैठकको निरन्तरता दिने सहमति भएको जानकारी दिए । ‘करिब अढाइ दशकदेखि निष्क्रिय भएका परामर्श संयन्त्र र आयोगका बैठक चाँडोभन्दा चाँडो आयोजना गर्न हामीबीच सहमति भएको छ,’ पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने ती निकायलाई सक्रिय पार्न भएका छलफलबारे जानकारी दिँदै उनले भने ।

नेपालको विकास प्रयासमा भारतीय सहयोगमा सञ्चालित विभिन्न परियोजनाको समीक्षाका साथै विविध कारणले अघि बढाउन नसकिएका आयोजनाका समस्या समाधान गर्दै तिनलाई द्रुत गतिमा अघि बढाउने सम्बन्धमा पनि भारतीय अधिकारीसँग छलफल भएको जानकारी उनले दिए ।

भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने जनाउँदै त्यसलाई कूटनीतिक माध्यमबाट अगाडि बढाउने समझदारी भएको पनि मन्त्री घिमिरेले बताए । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण गर्ने उत्कट अभिलाषा रहेको मन्त्री घिमिरेको कथन थियो । यसै वर्ष नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अठारौं अधिवेशन आयोजना गर्ने पालो परेकाले त्यस सम्बन्धमा पनि प्रधानमन्त्री डा. सिंह र अन्य मन्त्रीसँग सहयोग एवम् समन्वय बढाउँदै सार्कलाई थप मजबुत बनाउने विषयमा पनि विचार आदानप्रदान भएको जानकारी गराए ।

मन्त्री घिमिरेले स्थायित्व, शान्ति र समृद्धिको मार्गमा नेपाललाई अघि बढाउन संविधानसभाको निर्वाचन महत्वपूर्ण उपलब्धि भएको बताउँदै त्यसनिम्ति भारत सरकारले गरेको नैतिक एवम् भौतिक सहयोगप्रति आभार प्रकट गरेको विमानस्थलमा वितरित संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । एघार बुँदे सो विज्ञप्तिमा नेपाल–भारत सहयोगका विविध विधामा विगतमा भएका समझदारी एवम् सहमतिको प्रभावकारी कार्यान्वयनका निम्ति द्विपक्षीय संयन्त्र र आयोगका बैठक नियमित रुपमा गर्न दुवै मुलुकका परराष्ट्रमन्त्रीले सहमति जनाएको उल्लेख छ ।

शान्त, स्थिर र समुन्नत नेपाल निर्माण गर्ने नेपाल र नेपालीको उद्देश्य साकार पार्न भारतको निरन्तर एवम् दृढ सहयोग रहने प्रतिबद्धता पनि भारतीय विदेशमन्त्री सलमान खुर्सिदले मन्त्री घिमिरेसँग पुनः व्यक्त गरेका छन् । पारस्परिक लाभ र आर्थिक वृद्धि एवम् दिगो विकासका निम्ति द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्नुपर्नेमा दुवै मन्त्रीले जोड दिनाका साथै गरिबी निवारण, भोकमरी र सबै किसिमका पछौटेपनको सम्बोधनका लागि पनि व्यापार र लगानी विस्तार गर्नु अपरिहार्य भएकोमा जोड दिइएको छ ।

‘भारतसँगको नेपालको बढ्दो व्यापार घाटा कम गर्न जलविद्युत्जस्ता उत्पादनमूलक क्षेत्रमा भारतीय लगानी महत्वपूर्ण एवम् अपरिहार्य भएको मन्त्रीद्वयको धारणा रह्यो,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रण गर्न दुवै देशका वाणिज्य सचिवस्तरीय हालै काठमाडौंमा सम्पन्न अन्तरसरकारी समितिको बैठकमा भएका समझदारीको नेपाल र भारतले सराहना गरेका छन् ।’

मन्त्री घिमिरेले भारतीय विदेशमन्त्री खुर्सिदलाई नेपालको औपचारिक भ्रमण गर्न आमन्त्रण गरेकामा भारतीय विदेशमन्त्रीले सहर्ष त्यसलाई स्वीकार गर्दै भ्रमणको मिति कूटनीतिक माध्यमबाट निर्धारण गरिने जवाफ दिएका छन् ।

भारतीय विदेशमन्त्री खुर्सिदको निमन्त्रणामा गत मङ्गलबार तीनदिने औपचारिक सदभावना भ्रमणमा नयाँदिल्ली प्रस्थान गरेका परराष्ट्रमन्त्री घिमिरेसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशङ्कर मेनन र विदेश सचिव सुजाथा सिंहले पनि शिष्टाचार भेट गरेका थिए । मन्त्री घिमिरेलाई भारतीय सुरक्षा निकायका उच्च अधिकारीले सशस्त्र सीमा बलको प्रधान कार्यालयमा सीमा सुरक्षाको क्षेत्रमा भारतले गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us