बानेश्वर, बुद्धनगर, कोटेश्वर क्षेत्रमा प्रचण्डका लागि डेरा खोजी

काठमाण्डु टुडे २०७० माघ २ गते १४:४९ मा प्रकाशित

Prachanda Houseकाठमाण्डु, २ माघ – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डेरा सर्ने भएका छन् ।

अहिले लाजिम्पाट बस्दै आएका प्रचण्ड त्यहाँबाट सर्न लागेका हुन् ।

शान्ति प्रक्रियामा आएपछि करिब ४ वर्ष नयाँबजारमा बसेका प्रचण्ड २०६८ साल माघ ५ गते लाजिम्पाटस्थित अहिले बसिरहेको घरमा सरेका थिए ।

‘हामी सुरक्षाको कारणले लाजिम्पाटमा बसेका हौं,’ प्रचण्डको निजी सचिवालयका एक सदस्यले काठमाण्डु टुडेसँग भने, ‘पार्टी भित्र र बाहिर सुविधाभोगी प्रवृत्तिसँग जोड्ने काम भएकाले अध्यक्षको स्वेच्छाले डेरा सर्न लागिएको हो ।’

प्रचण्डका लागि संविधानसभा भवन नयाँ बानेश्वर र पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरको पायक पर्ने ठाउँमा घर खोजी भइरहेको सचिवालयले जनाएको छ । ‘पर्याप्त पानी, सुरक्षा, पार्टी कार्यालय र संविधानसभा भवनको पायक पर्ने गरी कोठाको खोजी भइरहेको छ,’ स्रोतले भन्यो ।

प्रचण्डले सकेसम्म छिटै डेरा सर्ने मनस्थिती बनाएको सचिवालयले जनाएको छ । प्रचण्डका लागि काठमाण्डुको नयाँ बानेश्वर, बुद्धनगर, कोटेश्वर आसपासका क्षेत्रमा घरको खोजी भइरहेको छ ।

प्रचण्डका लागि सचिवालयका सदस्यलगायत एमाओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मा पनि घरको खोजीमा लागेका छन् ।

प्रचण्ड नयाँबजारबाट लाजिम्पाट सरेसँगै सुविधाभोगी बनेको भन्दै पार्टीभित्र र बाहिर पनि आलोचना भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us