लागुऔषध नियन्त्रण अभियानमा प्रहरी

काठमाण्डु टुडे २०७० माघ २ गते ७:३९ मा प्रकाशित

विराटनगर, २ माघ – सीमावर्ती भारतीय क्षेत्रबाट दैनिक दुईजना लागुऔषध प्रयोगकर्ता फेला पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषध नियन्त्रण विशेष अभियान सञ्चालन गरेको छ ।

लागुऔषध प्रयोगकर्तालाई नियन्त्रण गर्ने उद्देश्यले एक महिने अभियान सुरु गरिएको प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । हरेक दिन औषतमा दुईजना लागुपदार्थ प्रयोगकर्ता फेला पर्न थालेपछि नियन्त्रणका लागि अभियान नै चलाउनुपरेको हो ।

प्रहरी उपरीक्षक पोखरेलका अनुसार भारतीय सीमावर्ती क्षेत्र रानीबाट बढी लागुऔषध प्रयोगकर्ता भेटिने गरेका छन् । आगामी फागुन १ गतेसम्म लागुऔषध नियन्त्रण विशेष अभियानका रुपमा प्रहरीले कार्य गर्ने उनले जानकारी दिए ।

जुनियर प्रहरी अधिकृतको कमाण्डमा सात सदस्यीय टोली उक्त अभियानमा जुटेको छ । जिल्लामा हुने अपराध नियन्त्रणका लागि पनि चाँडै नै प्रहरीको भिन्नभिन्न विशेष टोली गठन गरी अभियान सञ्चालन गरिने उपरीक्षक पोखरेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us