नेपालगन्जमा नमुना बस्ती निर्माण

काठमाण्डु टुडे २०७० माघ २ गते ५:२१ मा प्रकाशित

बाँके, २ माघ–स्थानीय वाटरपार्क क्षेत्रमा नेपालगन्ज नगर विकास समितिले अत्याधुनिक नमुना बस्ती निर्माण गर्ने भएको छ । समितिले करिब ६० रुपैयाँ करोडको लागतमा निर्माण गर्ने भनी प्रस्ताव गरेको सो योजना भौतिक योजना तथा निर्माण मन्त्रालयबाट स्वीकृतसमेत भइसकेको छ ।

योजनाअन्तर्गत करिब ६५ बिघा क्षेत्रफललाई एकीकृत गरी सुविधा सम्पन्न तथा व्यवस्थित बस्ती निर्माण गरिने बताइएको छ । छिट्टै निर्माण कार्य प्रारम्भ गरिने सो योजनाका लागि समितिले त्यस क्षेत्रमा रहेको ५१ प्रतिशत व्यक्तिको जग्गा अधिग्रहण गरी कागजी प्रक्रियासमेत पूरा गरिसकेको छ ।

पाँचवर्षे सो योजनाअन्तर्गत वाटरपार्क क्षेत्रमा निर्माण गरिने नमुना बस्तीमा २१ र ६ मिटरको सडक, ढल निकास, विद्युतीकरण, खानेपानीलगायत सबै भौतिक पूर्वाधार निर्माण हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us