देख्न नपाइने दम्दालामा लाखौंको सुन्तला

काठमाण्डु टुडे २०७० माघ २ गते ५:१३ मा प्रकाशित

Orangeजाजरकोट, २ माघ–जाजरकोट ढिमे गाउँ विकास समिति–१ दम्दालाका किसान शक्तिबहादुर वली १० वर्ष अघिसम्म सुन्तला चाख्न रुकुम र सल्यान जान्थे । तर अहिले उनले आफ्नै बारीमा उत्पादन गरेका सुन्तला आफूले खाने मात्र होइन बाहिर जिल्लामा पनि निर्यात गर्न थालेका छन् ।

उनको बारीमा अहिले ८०६ बोट सुन्तला छन् । यिनै बोटमा फलेका सुन्तला बेचेर उनी वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । सल्यानको जिमालीमा त्यहाँका किसानले लगाएको सुन्तला देखेर प्रभावित भएका वलीले आफू पनि सुन्तला खेती गर्ने अठोट गरेको उनी बताउँछन् । त्यसपछि जेटिएसँग परामर्श गरी अरु १० जना साथी मिलेर सुन्तलाका बिरुवा मगाएर सुन्तला खेती सुरु गरे उनले ।

‘हामी सफल भएपछि अरुले पनि यो काम सुरु गरेका छन् । अहिले दम्दालामा ४० परिवारले व्यावसायिक सुन्तला खेती गर्न थालेका छन्,’ वलीले भने, ‘अहिले यसैले नै सन्तुष्टी दिएको छ ।’

यो वर्ष जाजरकोटमा १४० हेक्टर जमिनमा एक हजार ३८१ मेट्रिक टन सुन्तला फलेको छ । जाजरकोटमा सुन्तलाका लागि ढिमेको दम्दाला निकै चर्चित छ । जिल्लाका ढिमे, दम्दाला, साल्मा र डाँडागाउँमा व्यावसायिक रूपमा सुन्तला खेती गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले ती ठाउँमा सुन्तला पकेट क्षेत्र घोषणा गरेर सोहीअनुसार कृषकलाई आवश्यक सहयोग गरेर प्रोत्साहन गरेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।

जाजरकोटमा फलेको सुन्तला जिल्लाका साथै सल्यान र रुकुमका विभिन्न बजारमा समेत निर्यात गर्न थालिएको छ । सुन्तला बिक्रीसँगै यी किसानको दैनिकी नै फेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us