
भद्रपुर, २ माघ–नेपालको पूर्वीद्वार मेचीनगर नगरपालिकाको आयस्रोतभन्दा प्रशासनिक व्ययभार बढी भएको आर्थिक वर्ष २०७०÷७१ को बजेटले सार्वजनिक गरेको छ । वि.सं. २०५३ माघ ११ गते झापाको काँकरभिट्टा र धुलाबारी गाउँ विकास समिति क्षेत्र गाभेर मेची अञ्चलको हालसम्म सबैभन्दा कान्छो रुपमा स्थापित उक्त नगरपालिकामा महिला २९ हजार ९५७ र पुरुष २७ हजार ५८८ जना गरी कुल ५७ हजार ५४५ जना जनसंख्या रहेको छ ।
चौबिसौं नगरपरिषदले पारित गरेको मेचीनगर नगरपालिकाको नगर विकास योजना बजेटमा आयतर्फ आन्तरिक स्रोतमा दुई करोड ६६ लाख ६७ हजार रुपैयाँ छ भने प्रशासनिक व्ययतर्फ चार करोड ४३ लाख ७५ हजार रुपैयाँ भएको पुस ३० गते सार्वजनिक गरेको छ ।
उक्त सार्वजनिक बजेटमा अन्य आयतर्फ नेपाल सरकारबाट अनुदान नौ करोड ६७ लाख ९६ हजार, वैदेशिक सहायता एक करोड ५३ लाख, ऋणबाट ५८ लाख १६ हजार, जिल्ला विकास समितिबाट अनुदान एक लाख, रजिस्ट्रेसनबाट ५० लाख र उपभोक्ताको लागत सहभागिताबाट एक करोड ३५ लाख १० हजार रुपैयाँ गरी कुल १६ करोड ३१ लाख ७९ हजार आयस्रोत भएको जनाएको छ ।
यस्तै व्ययतर्फ प्रशासनिकबाहेक पुँजीगत खर्च ११ करोड ८८ लाख चार हजार गरी कुल १६ करोड ३१ लाख ७९ हजार रुपैयाँ रहेको नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पन्थीले जानकारी दिए ।
मेचीनगर नगरपालिका कार्यालयमा उल्लिखित ९७ जना कर्मचारी कार्यरत रहेकामध्ये नौजना तृतीय श्रेणीको अधिकृत, १६ नायबसुब्बा सरहको कर्मचारी, ३९ जना खरिदार सरहको कर्मचारी र ३३ जना मुखिया सरहको कर्मचारी रहेका छन् । करार, अस्थायी र ज्यालादारी कर्मचारीको सङ्ख्या उल्लेख नभए पनि करिब १५–२० जना भएको जनचर्चा छ । रासस