
काठमाण्डु, २ माघ– नेपाली सेनाको थप फौज हिंसाग्रस्त दक्षिण सुडानमा शान्ति स्थापनाको लागि तैनाथ भएको छ । राष्ट्रसंघीय शान्ति मिसन मिनुस्टाह हाईटीमा तैनाथ रहेको नेपाली सेनाको टोलीमध्ये सेनानीको नेतृत्वमा २५ जनाको अग्रिम टोली दक्षिण सुडानमा तैनाथ अनमिस मिसनमा संलग्न हुन दक्षिण सुडानको राजधानी जुवा पुगेको हो ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सो टोलीलाई अनमिस मिसनका फोर्स कमाण्डरले स्वागत गरेका थिए ।
राष्ट्रसंघको अनुरोध बमोजिम नेपाल सरकारले गत पुस २५ गते दक्षिण सुडानमा थप ८ सय ५० जना शान्ति सैनिक खटाउने निर्णय गरेको थियो । जसमध्ये हाईटीमा तैनाथ रहेका ३ सय ५० जनालाई तत्कालै दक्षिण सुडानमा खटाउने निर्णय भएको थियो ।
हाल दक्षिण सुडानमा भड्किएको हिंसाबाट सर्वसाधारणलाई सुरक्षित राख्न राष्ट्रसंघले आफ्नो भूमिकालाई थप सुदृढ बनाउन लागेको छ ।