तीन मधेसी दल एकीकरण नजिक

काठमाण्डु टुडे २०७० माघ २ गते ३:५७ मा प्रकाशित

काठमाण्डु, २ माघ-तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), मधेसी जनअधिकार फोरम नेपाल र सदभावनाले एकीकरणका लागि खाका तयार पारेका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोले विभिन्न चरणमा छलफल गरी एकीकरणका चार ‘मोडालिटी’ तयार पारेका हुन् ।

उनीहरूले तीनजना अध्यक्षको समान हैसियत हुने गरी र तीनवटै पार्टीका कार्यकर्तामा सम्मानित महसुस हुने सन्देश जाने गरी (विन विनको पोजिसनमा) पार्टी एकीकरण गर्न लागेका छन् । तीन पार्टी एकीकरणपछि यो शक्ति संविधानसभाको चौथो दल बन्नेछ भने मधेसको पहिलो । संविधानसभाको दोस्रो चुनावबाट तमलोपाले ११, फोरम नेपालले १० र सद्भावनाले ६ सिट पाएका छन् । तीनवटा मिले संविधानसभामा २७ सभासद हुनेछन् । अहिले २४ सिटसाथ कमल थापा नेतृत्वको राप्रपा नेपाल चौथो स्थानमा छ ।

ठाकुरको सानोठिमी र महतोको भीमसेनगोला निवासमा दुई चरण छलफल गरी उनीहरूले एकीकरणका खाका तयार पारेका हुन् । पहिलो, अध्यक्ष मण्डलीय प्रणालीय बनाउने र तीन जना नै अध्यक्षमण्डलका समान सदस्य रहने र आलोपालो ४/४ वा ६/६ महिना नेतृत्व गर्ने र पार्टीका कुनै पनि निर्णय सामूहिक सहमतिमा गर्ने । दोस्रो, तीन जनामध्ये एक जनालाई अध्यक्ष मान्ने र बाँकी दुई जनाले कार्यकारी अध्यक्ष सम्हाल्ने । दुई कार्यकारी अध्यक्षमा एक जनाले संविधानसभा/संसदीय दलको नेतृत्व गर्ने र अर्काले संगठनात्मक मोर्चा सम्हाल्ने ।

तेस्रो, तीन अध्यक्षमध्ये एक अध्यक्ष, एक वरिष्ठ नेता र एक सहअध्यक्ष हुने र पार्टीका हरेक निर्णय गर्दा तीन जनाको सहमतिमा गर्ने । चौथो, तीन अध्यक्षमा एक जना अध्यक्ष र अरू दुई जना वरिष्ठ नेता रहने गरी मोडालिटी तयार पारिएको एक नेताले बताए । ‘तीन अध्यक्षबीच समान हैसियत हुने गरी एकीकरण प्रक्रिया अघि बढिरहेको छ,’ एक नेताले भने, ‘पार्टीको तल्लो निकायसम्मै सकारात्मक सन्देश जाओस् भन्नेमा बढी ख्याल गरिएको छ ।’

एकीकरणपछि हुने पार्टीको नाम, झन्डा र चुनाव चिह्नबारे पनि तीन अध्यक्षले यसै साता आ-आफ्ना पार्टीभित्र छलफल गरिसकेका छन् । जसअनुसार सदभावना, लोकतान्त्रिक फोरम, लोकतान्त्रिक सदभावना फोरम र तराई मधेस सदभावना फोरमलगायत नाममा बहस भइरहेको छ । एकीकरणबारे तीन पार्टीका पदाधिकारीबीच बिहीबार फेरि छलफल हुँदैछ । अध्यक्षसहित ५/५ जनाको टोलीले भाग लिने त्यो छलफल आवासीय हुनेछ । त्यसले पार्टीको नाम र नेतृत्वमा सहमति गर्ने विश्वास गरिएको छ ।

गच्छदार पनि सानालाई बटुल्दै

मधेसका तीन पार्टी एकीरण प्रक्रियाले गति लिन थालेपछि १४ सिट बोकेको फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि मधेसका अरू साना पार्टीलाई एकीकरण गरी चौथो शक्ति बनाउन कसरत सुरु गरेका छन् ।

शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (३ सिट), महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी (३ सिट), विश्वेन्द्र पासवान नेतृत्वको दलित जनजाति पार्टी (२ सिट), र एक/एक सिट बोकेका राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक, अनिल झा नेतृत्वको संघीय सद्भावना, रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) र मधेस समता पार्टीबीच एकीकरण गर्न खोजेका हुन् । सबै जोड्दा सभासदको संख्या २८ पुग्नेछ । – कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us