नेवारी संस्कृति जोगाउन सङ्ग्रहालय स्थापना

काठमाण्डु टुडे २०७० माघ २ गते २:०८ मा प्रकाशित

काठमाण्डु, २ माघ–नेवार समुदायको भाषा, संस्कृति तथा पहिचानलाई नयाँ युवा पुस्तामाझ प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डुको असनमा जनस्तरबाट पहिलोपटक सङ्ग्रहालय स्थापना भएको छ । ‘उदाय म्युजियम’ नामक संग्रहालय स्थापना गरिएको हो ।

वि.सं. २०५२ मा स्थापित उदाय समाजले स्थापना गरेको सो सङ्ग्रहालयमा विभिन्न नौं प्रजाति र १० समूहमा विभाजित यी जातिले गर्दै आएका विविध पेसा, पेसामा प्रयोग गरिने ज्यावलहरु, वेशभूषा, रहनसहनको प्राचीनदेखिको इतिहास झल्काउने बस्तु तथा पहिचान झल्काउने महिला तथा पुरुषका प्रतिमा राखिएका छन् । त्यस्तै बौद्धधर्म झल्काउने बुद्ध मन्दिर, स्तुपा तथा स्वयम्भूको चित्र अर्को आकर्षक रहेको छ ।

नेवार समुदायको उदाय जातिभित्र पनि तुलाधर, कंसाकार, सिख्राकार, बानियाँ, सिन्दुराकार, शिलाकार र सेलालिक गरी नौं उपजातिमा रहेका उनीहरुको पेसागत काम पनि छुट्टाछुट्टै रहेको छ । तुला समाई व्यापार गर्ने तुलाधर जाति परम्परादेखि ल्हासा व्यापारीका रुपमा परिचित छन् भने काठका सामग्रीहरु काम गर्ने स्थापित, काँसका सामग्री बनाउने कंसाकार र देवदेवतालाई कपडा उत्पादन गर्ने सिन्दुराकार जातिमा पर्दछ । त्यस्तै मन्दिरमा गजुर स्थापना गर्ने सिख्राकार, आयुर्वेदिक जडीबुटीको व्यापार गर्नेलाई बनियाँका रुपमा चिनिन्छ । कुल एक हजार ३३४ परिवार रहेको यो जातिको जनसङ्ख्या आठ हजार ९५ रहेको उदाय समाजले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us