आज १६ औं भूकम्प सुरक्षा दिवस

काठमाण्डु टुडे २०७० माघ २ गते १:३७ मा प्रकाशित

काठमाण्डु, २ माघ–आज १६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, बिभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । ‘नसोधी–नबोली आउँछ भूकम्पीय विपदा, जागौं–जुटौं बचाउन सृष्टिको सम्पदा’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो ।

वि.सं. १९९० साल माघ २ गते गएको भुकम्पमा दिवंगत भएकाहरुको सम्झना तथा भुकम्पको क्षतिबाट बँच्ने उपायबारे जानकारी गराउने उद्देश्यले २०५५ सालदेखि प्रत्येक बर्ष सरकारले भूकम्प सुरक्षा दिवस मनाउदै आएको छ ।

नेपालको इतिहासमा १९९० सालको भूकम्प नै सबैभन्दा ठूलो हो । सो भूकम्पमा परी ८ हजार ७ सय मान्छेले ज्यान गुमाएका थिए भने ८० हजार भन्दा धेरै घर तथा अन्य संरचना भत्केका थिए ।

नेपालको राजधानी काठमाण्डु भुकम्पीय दृष्टिकोणले विश्वकै जोखिमयुक्त मानिएको छ । ८ दशमलव ४ रेक्टर स्केलको भूकम्प आए काठमाण्डु उपत्यकाको हालत निकै भयावह हुने विज्ञहरुले दावी गरेका छन् । नेपालमा १९९० सालको जस्तै क्षमताको भुकम्प आएमा अहिले त्यसको भन्दा तीस गुणा बढी क्षति हुने भूकम्पविदहरुले दावी गरेका छन् ।

काठमाण्डु उपत्यका लगायतका प्रमुख शहरहरुमा घर लगायतका भौतिक संरचना भुकम्प प्रतिरोधी बनाउनु पर्ने नियम भए पनि जथाभावि बन्ने गरेका छन् । तर पनि कडाइका साथ अनुगमन भएको पाईंदैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us