संविधान निर्माणमा दवाब दिन सडक र सदन संघर्ष चर्काउने प्रस्ताव

काठमाण्डु टुडे २०७० माघ २ गते १४:११ मा प्रकाशित

UCPNM-CCMकाठमाण्डु, २ माघ – एकीकृत माओवादीको केन्द्रीय समिति बैठक काठमाण्डुमा सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रचण्डले प्रतिवेदनमा आउँदो जेठमा पार्टीको सांगठनिक महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

त्यसका लागि आउँदो चैतदेखि जेठसम्ममा केन्द्रदेखि गाउँसम्मको निर्वाचन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै केन्द्रीय समिति विघठन गरी आफ्नै नेतृत्वमा महाधिवेशन आयोजक कमिटि गठन गर्ने प्रस्ताव पनि उनले गरेका छन् ।

आफ्नो प्रतिवेदनमा प्रचण्डले संविधानसभा निर्वाचनपछि मात्रै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका छन् । अबको एक वर्षमा संविधान निर्माण गर्नुपर्ने भन्दै प्रचण्डले त्यसपछि मात्रै स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरेका छन् ।

यस्तै संविधान निर्माणमा दवाब दिन सडक र सदन संघर्ष चर्काउने प्रस्ताव पनि प्रचण्डले गरेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले ९९ जनाको केन्द्रीय समिति, ५१ जनाको जिल्ला कमिटि र २५ जनाको गाउँ कमिटि बनाउने प्रस्ताव गरेको एक नेताले जानकारी दिए ।

यसैबीच एमाओवादी प्रवक्ता अग्नीप्रसाद सापकोटाले अभिव्यक्तिमा स्वतन्त्रता र काम कारबाहीमा एकरुपताको सिद्धान्तमा पार्टी अघि बढ्ने बताएका छन् । विहीबारको केन्द्रीय समिति बैठकपछि सापकोटाले यस्तो बताएका हुन् । उनले विहीबारको बैठकमा अध्यक्ष प्रचण्डले सत्य निरुपण र मेलमिलाप आयोग गठनमा जोड दिने प्रस्ताव गरेको जानकारी दिए । बैठकमा शुक्रबारबाट केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन् ।

यसैबीच जारी बैठकमा बरिष्ठ नेताद्वय डा। बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले छुट्टै प्रस्ताव ल्याउने तयारी गरे पनि अध्यक्ष प्रचण्डले दुवैको सुझाव प्रतिवेदनमा समेट्ने बताएपछि पूर्व उपाध्यक्षद्वयले छुट्टै प्रतिवेदन नल्याई मौखिकरूपमा सुझाव पेश गर्ने तयारी गरेका छन् । केन्द्रीय समितिमा एउटै मात्र प्रस्ताव पेश हुने भएपछि तत्कालको लागि एमाओवादी भित्रको विवाद मिलेको देखिएको छ ।

यसअघि निर्वाचनमा पराजयको जिम्मेवारी र सभासद छनोटको विषयलाई लिएर नेताद्वय भट्टराई र श्रेष्ठले लिखित असहमति प्रचण्डलाई बुझाएका विवाद उत्कर्षमा पुगेको थियो ।

यसअघि पूर्वपोलिटव्युरो सदस्यहरुको बैठकमा प्रचण्डको राजनीतिक प्रस्ताव पेश गरिएको थियो । प्रस्तावमा निर्वाचनमा हार हुनुमा पार्टीको आन्तरिक कारण प्रमुख रहेको, पार्टी आगामी सरकारमा जान नहुने, संगठन शुद्धीकरण गर्नुपर्नेलगायतका विषय समेटिएका छन् । त्यस्तै पार्टी एकीकरण र पुनःनिर्माणलगायतका विषय पनि प्रस्तावमा रहेको प्रवक्ता सापकोटाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us