एक वर्षभित्रै संविधान बनाउँछौं : देउवा

काठमाण्डु टुडे २०७० माघ १ गते १२:०६ मा प्रकाशित

sher-bahadur-deubaकाठमाण्डु, १ माघ – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कुनै पनि हालतमा एक वर्षभित्रै संविधान बनाएरै छाड्ने बताएका छन् ।

दिशानिर्देश प्रेस क्लबले बुधबार राजधानीमा आयोजना गरेको नयाँ संविधान निर्माणसम्बन्धी अन्तक्र्रियामा बोल्दै देउवाले सबै राजनीतिक दलले प्रतिबद्धता जनाएअनुरुप एक वर्षभित्रै प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित संविधान बनाएरै छाड्ने बताए


पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सबै राजनीतिक दलले निर्वाचन घोषणापत्रमा एक वर्षभित्रै संविधान बनाउने प्रतिबद्धता जनाएको भन्दै संविधान निर्माण कार्य १ वर्षभित्रै पूरा हुने प्रतिवद्धता जनाए ।

संविधान निर्माणपश्चात राजनीतिक स्थायित्व कायम भई मुलुक समृद्धिको मार्गमा अघि बढ्ने उनको भनाई छ ।

कार्यक्रममा संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्बाङले संविधानसभाको पहिलो बैठक बस्नुअघि नै दलीय सहमतिका आधारमा संविधानसभामा प्रतिनिधित्व गरिने २६ सिटको टुङ्गो लगाउनु पर्ने बताए ।

निर्वाचनमा जनताले कुनै पनि दललाई बहुमत नदिई खासगरी प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादीलाई मिलेर जाने जनादेश दिएको भन्दै उनले दलीय प्रतिबद्धताअनुरुप विगतको सहमतिलाई ग्रहण गर्दै एक वर्षभित्रै संविधान जारी गरिनु पर्ने धारणा राखे ।

यस्तै नेकपा माले का महासचिव सिपी मैनालीले ठूला प्रजातान्त्रिक शक्ति काँग्रेस र एमालेबीच बेमेल गराउन बाह्य शक्तिको खेल भइरहेको दाबी गर्दै दलहरु मिलेर जानुको विकल्प नभएको बताए ।

यसैगरी नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले नयाँ संविधान नबन्दासम्म एउटा चरणमा सम्झौता गरी राष्ट्रिय सहमतिको मोडलबाट अघि बढ्नसके दलहरुबीचका सबैखाले समस्या समाधान हुने धारणा राखे ।

यस्तै नेपाल सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले दलीय प्रतिबद्धताअनुरुप एक वर्षभित्रै संविधान जारी गर्न विगतका सहमतिलाई स्वामित्व ग्रहण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानसभाको निर्वाचन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि दलहरु सरकार गठनलगायतका आन्तरिक विवादमा फस्नुले जनतामा नकारात्मक सन्देश गएको भन्दै दलीय स्वार्थ त्यागेर जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us